काँग्रेस सांसदहरुद्वारा दुई मन्त्रालयको खर्च कटौती गर्न माग


१७ असार २०७६, मंगलवार १४:४२ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गरेका छन् ।

नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगतको विविध शीर्षकको खर्च कटौती गरेर एक सय कायम राख्न गर्न माग गर्दै खर्च कटौतीको प्रस्ताव पेश गरे । त्यसैगरी काँग्रेसकै अर्की सांसद मुक्ताकुमारी यादवले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कृषकलाई दिने अनुदानको रकम कम भएको उल्लेख गर्दै कटौती गरेर एक रुपैयाँ कामय गर्न माग गर्दै खर्च कटौतीको प्रस्ताव पेश गरेका हुन् ।

सांसद पाण्डेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विविध शिर्षकमा मात्रै १ अरब ६४ करोड ८४ बजेट विनियोजन गरेकोमा आपत्ति जनाउँदै त्यसलाई दुरुपयोग हुन नदिन खर्च कटौतीको प्रस्ताव पेश गरिएको स्पष्ट पारे । उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीयता अनुकूल काम नगरेको, कर्मचारी समायोजनको कामको समेत उचित व्यवस्थापन गर्न नसकेको तर विविध शीर्षकमा पनि अत्याधिक बजेटको व्यवस्था गरेर मुलुकको अर्थतन्त्रमाथिकै बदनियत राखेको उल्लेख गर्दै आपत्ति जनाए ।

त्यसैगरी सांसद मुक्ताकुमारी यादवले ५ वर्षमा दोब्बर कृषिमा उत्पादन गर्ने लक्ष्य लिएको सरकारले बजेटमा कृषि क्षेत्रको विकासका लागि ३ प्रतिशत पनि बजेट विनियोजन नगरेको तथा किसानहरुको अनुदानका लागि उचित बजेट दिन नसकेकाले आफूले सो मन्त्रालयको बजेट एक रुपैयाँ कायम गर्न माग गर्दै खर्च कटौतिको प्रस्ताव पेश गर्नु परेको स्पष्ट पारिन् । किसानका लागि आवश्यक सेवा, सुविधा दिनुपर्ने सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्न नसकेकोमा सांसद यादवको आपत्ति छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here