गौरीगञ्ज घटना : दिउँसो शिक्षकले कुटे, घर पुगेर एक छात्राद्वारा आत्महत्या


२५ माघ २०७९, बुधबार १४:४० मा प्रकाशित

झापा । झापाको गौरीगञ्जमा कक्षा ११ मा पढ्ने एक छात्राले आत्महत्या गरेपछि बुधबार गौरीगञ्जको स्थिति असामान्य बनेको छ । शिक्षकले ती छात्रालाई कुटपिट गरेपछि उनले आत्महत्या गरेको विद्यार्थी तथा अभिभावकहरूले दाबी गरेका छन् ।
गौरीगञ्ज माबिमा कक्षा ११ मा अध्ययनरत गौरीगञ्ज ३ की सोनी राजवंशीले आत्महत्या गरेकी हुन् । मंगलबार स्कूलबाट घर फर्केलगतै आत्महत्याको प्रयास गरेकी उनलाई तत्कालै उद्धार गरि अस्पताल पुर्याएपनि अस्पतालले मृत घोषित गरेको थियो ।
यही घटनालाई लिएर बुधबार बिहानैदेखि गौरीगञ्ज अशान्त बनेको हो । प्रत्यक्षदर्शी बिद्यार्थीहरुका अनुसार मंगलबार बिद्यालयमा केटा साथीसँग बसेको निहुँमा बिद्यालयका शिक्षक पवन दासले उनलाई लट्ठीले कुटपिट गरेका थिए ।
बिद्यालयमा शिक्षक पवन दासले कुटपिट गरेको र अर्का शिक्षक नितेश कटुवालले कुटपिट गरेको भिडियो बनाएका कारण सोनीले आत्महत्या गर्न विवश भएको आरोप मृतकका आफन्तहरुले लगाएका छन् । पीडितका आफन्त र कक्षा ११ का बिद्यार्थीहरूले आरोपित शिक्षकहरुलाई पक्राउको माग गर्दै बुधबार बिहान इलाका प्रहरी कार्यालय धर्ना दिएका थिए ।
आक्रोशित आफन्त र मृतकका साथीहरूले शिक्षक पवन दासको घरमा तोडफोडसमेत गरेका छन् । आरोपित शिक्षकलाई पक्राउ गरि अहिले इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here