नेपाली कामदारको सुरक्षाका विषय सुनिश्चित गर्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड


२० माघ २०७९, शुक्रबार १८:०० मा प्रकाशित

झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसन इजमाइलसंग शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली कामदारको हितका विषयमा छलफल गर्नुभएको थियो ।

भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले मलेसिया सरकारका तर्फबाट श्रमिकहरूको न्यूनतम ज्याला, १२ सय रिंगेटबाट बृद्धि गरेर १५ सय बनाएकोमा धन्यवाद दिनुभएको थियो । यसका साथै फ्रि भिसा र फ्रि टिकेटको व्यवस्थालाई अझै कडाइका साथ लागू गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले यसो गर्न सकेमा रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिने बताउनुभयो ।

सो क्रममा मलेसियाका गृहमन्त्रीले मलेशिया सरकारले विदेशी श्रमिकहरूलाई भित्राउने प्रक्रिया र मलेसियामा रहँदा कामदारको कल्याण र सुरक्षाका विषयमा गम्भीर रहेको बताउनुभयो ।

उहाँले मलेसियाको ५ वटा आर्थिक क्षेत्रमा कामदारको आवश्यकता रहेको जानकारी दिनुभएको थियो । भेटमा नेपाल र मलेशियाबीच श्रमिक सहकार्यका विषयमा यसअघि सम्पन्न समझदारीपत्रलाई परिमार्जन गर्ने समझदारी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here