काठमाडौं । रवि लामिछानेले नागरिकता पुनः प्राप्तिका लागि आइतबार नै प्रक्रिया थाल्नुहुने भएको छ ।
सर्वोच्च अदालतले शुक्रबार रवि नेपाली नागरिक नरहेको फैसला गरेसँगै उहाँ पुनः नागरिकता प्राप्ति प्रक्रियामा जान लाग्नुभएको हो ।
अमेरिकी नागरिकता त्याग्नु भएका लामिछानेले नेपाली नागरिकता प्राप्त गर्ने प्रक्रिया पूरा नगर्दा अदालतको फैसलाबाट एक साथ सांसद, मन्त्रीसहित चार पद गुमाउनु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले लामिछानेले आइतबार नै पुनः नागरिकता प्राप्तिका लागि प्रक्रिया थाल्ने जानकारी दिनुभयो ।
रवि नेपाली नागरिक नभएको सर्वोच्चको फैसलापछि उहाँ नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य के हुने भन्ने अन्योल देखिएको छ । ढकाल रविकै नेतृत्वमा पार्टी अघि बढ्ने बताउनु हुन्छ ।
संविधानअनुसार गैरसांसद ६ महिना मन्त्री बन्न पाउने भएकाले नागरिकता लिएपछि रविलाई पुनः पुरानै जिम्मेवारीमा फर्किंन पनि कतिपयले सुझाएका छन् । तर यसबारेमा भने उहाँको पार्टीले कुनै निर्णय लिएको छैन ।