देशभरका केवल व्यवसायीले ऊर्जामन्त्री लिङ्देनलाई बुझाए ज्ञापन पत्र, माग पूरा नभए तालाचाबी बुझाउने चेतावनी


१० माघ २०७९, मंगलवार ०९:४३ मा प्रकाशित

काठमाडौं । केवल नेटवर्क विस्तारका लागि प्रयोग भएका नेपाल विद्युत प्राधिकरणका पोल भाडा अध्याधिक बृद्धि गरिएको भन्दै उक्त भाडा २०७५ साल साउन महिना भन्दा अघिको भाडा कायम गरिदिन केवल व्यवसायीहरूले ऊर्जामन्त्री राजेन्द्र लिङ्देनलाई मंगलबार ज्ञापन पत्र बुझाएका छन् ।

मंगलबार बिहान मन्त्री निवास पुगेर उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा भनिएको छ, ‘शहरको सुन्दरता र भुगोलको अध्ययन गरेर बढीमा ७ वटा कम्पनीलाई विद्युत पोल प्रयोग गर्न स्वीकृती दिने कार्यनीति हुँदाहुँदै पनि पछिल्लो समय विद्युत प्राधिकरणले जथाभावी पोल प्रयोग गर्न स्वीकृती दिँदा सहरको कुरुपता झन् बढ्ने तथा पुराना यस प्रकृतिका केबल व्यवसाय नै धरासायी हुने अवस्थाले गर्दा हालसम्मको केबल व्यवसायीहरुले पोल भाडा वापत प्राधिकरणलाई तिर्न बाँकी बक्यौता रकम पूर्ण रुपमा मिनाहा गरि तत्पश्चात विद्युतीय पोल प्रयोग तथा सोको भाडा भुक्तानी एवं उपयोग सम्बन्धमा सिफारिस गर्न गठित समितिको प्रतिवेदन तत्काल कार्यान्वन गरि केबल व्यवसायीको हकमा साविक मिति २०७५ श्रावण पूर्वको नै पोल भाडा दर कायम गरिनु पर्ने अपिल गर्दछौं ।’

आफूहरूमाथि नेपाल विद्युत प्राधिकरणले बारम्बार अन्याय गरेको भन्दै जथाभावी बृद्धि गरिएको भाडामा सम्झौता गर्न आउन भन्दै ताकेता गरेको तथा प्राधिकरणले देशका विभिन्न स्थानहरुका केबल व्यवसायीहरुको केबलको तार काट्ने, केबल उपकरण जफत गर्ने, विद्युत आपूर्ति बन्द गर्ने जस्ता गैरकानूनी कार्यहरुगरेको केवल व्यवसायीहरूको भनाइ छ । उनीहरूले यस्लाई तत्काल रोक्नुपर्ने ऊर्जामन्त्री लिङ्देनसंग माग गरेका छन् ।

केवल व्यवसायीहरूलाई धरासायी बनाउने काम सरकारी निकायबाटै भएकाले यस्तो काम तत्काल बन्द हुनुपर्ने उनीहरूको माग छ । आफ्ना माग पूरा नभए व्यवसायका तालाचाबी सरकारलाई नै जिम्मा दिने केवल व्यवसायीहरूले चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here