सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न दिइएको आदेशमा के-के भनिएको छ ?


२९ पुष २०७९, शुक्रबार ०७:२० मा प्रकाशित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनले बिहीबार राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलास पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै लामिछानेलाई सर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिनुभयो। उहाँका अनुसार लामिछानेलाई विदेश जान रोक लगाइएको छ । साथै उच्च अदालतले पाटनले सन्दीपलाई पीडितसँग सम्पर्क नगर्न आदे‍श दिएको छ । यदि सन्दीपले पीडितसँग सम्पर्क गरेको पुष्टि भएमा उनलाई फेरि थुनामा पठाइनेछ ।

आदेशमा भनिएको छ, ‘पुर्पक्षको क्रममा धरौटी माग गर्ने गरी भएको यस आदेशको प्रकरण संख्या २१ मा उल्लेख भएका कुनै वा सबै सर्तहरुलाई प्रतिवादीले उलंघन गरेमा निजलाई मुद्दाको पुर्पक्षको क्रममा धरौटी माग गर्ने गरी यस इजलासबाट भएको प्रस्तुत आदेश स्वतः निष्कृय भएको मानिनेछ। त्यसरी आदेश निष्कृय भएकोमा यी प्रतिवादीलाई मुद्दाको पुर्पक्षको क्रममा थुनामा राखि जिल्ला अदालतले मुद्दाको कारबाही र किनारा गर्नु पर्नेछ।’

गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो।यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।

लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ। तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्। उमेरसम्बन्धी विवाद भएपछि इजलासले उहाँको जन्मसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको थियो ।

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई जबर्जस्ती बलात्कार गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्।

जाहेरीपछि लामिछाने सम्पर्कविहीन हुनुभएको थियो । प्रहरीले पक्राउ पुर्जी जारी गरी उहाँलाई पक्राउ गर्नको लागि इन्टरपोलसँग आग्रह गरेको थियो। सन्दीप सोही उजुरीका आधारमा विदेशबाट फर्किने क्रममा विमानस्थलबाटै पक्राउ पर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here