तनहुँ । भानु नगरपालिका वडा नम्बर ३ खहरेका पास्नी (भात खुवाई) को भोज खाएका ४१ जना बिरामी परेका छन् ।
स्थानीय धनराज श्रेष्ठका छोराको भात खुवाईमा भोज खाएका ४१ जना गाउँले एकै पटक बिरामी परेका हुन् । छोराको पास्नी आयोजना गरिएको कार्यक्रममा गाउँलेले माछा, कुखुराको मासु, केराउको तरकारी र सलाद खाएका थिए ।
स्थानीयको अनुसार माछाको मासु खाएका सबै बिरामी परेका हुन् । भोजमा माछा खाएर बिरामी परेका वडा अध्यक्ष दल नारायण श्रेष्ठले जानकारी दिए । ४१ जनाको स्थानीय मेडिकल र जिल्ला अस्पतालमा उपचार भइरहेको छ । विहिबार १२ गते भात खुवाईमा खाएको असर आज देखिएको हो । यस बारेमा वडा प्रहरी कार्यालय भानुलाई पनि जानकारी भएको स्थानीयले बताएका छन् ।
माछा खाएकाहरु मात्र बिरामी परेका छन्,भनेअन्य खानेकुरा खाएकालाई कुनै असर देखिएको छैन । त्यसै कारण माछाले बिरामी हुन सक्ने प्रहरी निरिक्षक निरज ढाङ्गीले बताएका छन् । खाद्य तथा गुण नियन्त्रण कार्यालय तनहुँका प्रमुख शिवजी बरालले भने, ‘डुम्रे बजारको एक (फे्रस हाउस) बाट खरिद गरिएको माछामा विषादी हालिएको अनुमान गरिएको छ’ ।
भोज खाएका उनीहरु भोलि पल्टदेखि नै बिरामी पर्न थालेका थिए । झाडापखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने भएपछि उनीहरुलाई अस्पतालमा पुर्याइ उपचार गरिरहेको छ । खानेपानी, माछाको मासुको नमुना परिक्षणको लागि लिएको बरालले बताए ।





