विराटनगर । प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सडक सुशासनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आज विराटनगरमा आयोजित सडक सुशासन तथा सुरक्षा बिषयक एकदिवसिय प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रममा बोलदै उनले यस्तो बताए । मन्त्री कार्कीले प्रदेश सरकार गठन भएकै बेला सडक सुशासनलाई प्राथमिकतामा राखेर निति ल्याइएको बताउँदै सोहि अनुसार कार्यक्रम बनाएर बजेट बिनियोजन गरिएको बताए । उनले प्रदेश भित्र रहेको करीब १३ हजार किलोमिटर सडक सञ्जाल मध्ये पहिलो चरणमा ६२ किलोमिटर सडकलाई सडक सुशासन भित्र राख्नेगरि प्रक्रिया शुरु गरिसकिएको जानकारी दिए ।
मन्त्री कार्कीले महेन्द्र राजमार्गको कन्काई नदीदेखी मेची पुलसम्म र झुम्कादेखी बेलबारी सम्मको सडकलाई सडक सुशासन भित्र राख्नेगरि आवश्यक कार्य प्रारम्भ गरिसकिएको बताए । उनले झुम्कादेखी बेलबारी सम्मको २५ किलोमिटर सडकलाई सडक सुशासनभित्रको पहिलो नमुना सडककोरुपमा विकास गर्न लागिएको समेत जानकारी दिए ।
मन्त्री कार्कीले इलाम, धनकुटा र उदयपुरका सडकहरुलाई समेत सडक सुशासन भित्र राख्नेगरि प्रारम्भीक चरणको काम भइरहेको जानकारी दिए । उनले पछिल्लो १० बर्षभित्र दैविक विपत्ति लगायतका कारण भन्दापनि सडक दुर्घटनामा झण्डै दोब्बर संख्याका मानिसले ज्यान गुमाएका कारण सडकहरुलाई ब्यवस्थित गर्नुपर्ने आवश्यकता रहको प्रष्ट पारे । प्रदेश प्रहरी प्रमुख ठाकुर ज्ञवालीले सडक सुशासन कायमगर्न ट्राफिक प्रहरी एक्लैमात्र सम्भव नहुने बताउँदै सरोकारवाला सबै पक्ष जिम्मेबार र अनुसाशित हुनुपर्ने बताए । कार्यक्रममा अन्य सहभागिले सडक संरचना, चालकको लापरवाही तथा सवारी साधन र सडकको अवस्थाका कारण ट्राफिक व्यवस्थापन चुुनौतीपुुर्ण बन्दै गएको बताए ।





