मेचीनगर । मेची भन्सार कार्यालय र भारतीय भन्सार कार्यालयका अधिकारीहरूले आज दिउँसो १ बजे आ–आफ्नो मुलुकको झण्डा फहराउँदै यातायातका साधनलाई प्रस्थान अनुमति दिएर एसियाली राजमार्गको पुल सञ्चालनको संयुक्त सुरुआत गरेका थिए । नेपालतर्फबाट मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठक र भारतका तर्फबाट नक्सलबारी भन्सार डिभिजनकी उपआयुक्त लहाछिरिङ शेर्पाले पुलको संयुक्त सुरुआत गर्नु भएको थियो । विसं २०७३ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले पुल निर्माणको सम्झौता गरेका गर्नु भएको थियो । भारत सरकारले निर्माण गरेको यस पुलको आधा भाग नेपाली सीमाभित्र पर्दछ । एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजनाअन्तर्गत एसियाली विकास बैंकको भारु एक अर्ब ६० करोड ऋण सहयोगमा भारत सरकारले नै पुलको निर्माण गरेको हो । निर्माणका क्रममा पुलको पश्चिमी भागमा पाँच सय मिटर एप्रोच सडक बनाउँदा त्यहाँ बसोबास गरेका ४३ परिवारलाई रु तीन करोड ३७ लाख मुआब्जा नेपाल सरकारले प्रदान गरेको थियो । नयाँ पुल फराकिलो र सुविधाजनक भएको हुँदा पूर्वीनाका हुँदै गरिने व्यापार सहज बन्ने मेची भन्सार कार्यालयका प्रमुख पाठकले बताउनु भयो ।
पूर्वीनाका काकरभिट्टामा ६ लेनको ‘मितेरी पुल’ सञ्चालन
१७ पुष २०७९, आईतवार १९:०१ मा प्रकाशित