काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयमा कानुनबमोजिम काम गर्न मन्त्रीलाई भेट्नु नपर्ने बताउनु भएको छ ।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताउनु भएको हो ।
मन्त्री लामिछानेले गृह मन्त्रालयका कर्मचारीहरू नागरिकको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध रहेको बताउनु भएको छ। मन्त्री भएपछि बधाई तथा शुभकामना दिनेहरूलाई धन्यवाद ज्ञापन गर्दै उहाँले भेटघाट, फूलमाला, खादा गम्छाको शिलशिला रोकेर काममा लाग्नुपर्ने समय आएको बताउनु भएको हो ।
उहाँले लेख्नुभएको छ, ‘सम्पूर्ण माध्यमबाट प्राप्त बधाई शुभकामनाहरूका लागि यहीँबाट धन्यवाद टक्रयाएको छु। अब भेटघाट, फूलमाला, खादा, गम्छाको सिलसिलालाई रोकेर निरन्तर काममा लाग्नु पर्ने बेला आएको छ। हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन । हाम्रा कर्मचारी साथीहरू तपाईंको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध छन् ।’