झापा बिर्तामोडका निराकारले देखेको मृत्यु र उहाँले छोरालाई दिएको त्यो सन्देश


१५ पुष २०७९, शुक्रबार १७:०६ मा प्रकाशित

झापा । कम्बोडियाको एउटा क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० बर्षिय निराकार पाण्डेको मृत्यु भएपछि अहिले बिर्तामोड शोकमा डुबेको छ ।

बिर्तामोड नगरपालिका वार्ड नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा निराकारको मृत्यु भएको हो । जब बहुतले क्यासिनो भवनमा आगलागी हुन थाल्यो तब उहाँले आफ्नै मृत्यु आँखा अघि देख्नुभयो । उहाँले घरमा भिडियो कल गर्नुभयो र परिवारका सदस्यहरूलाई घटनाबारे सुनाउनु भयो । आफू रहेको कोठाबाट हाम फाल्न बाहेक अर्को विकल्प नभएको उहाँले परिवारका सदस्यलाई सुनाउनु भएको थियो ।

तर घरबाट त्यसो नगर्न र सहयोगका लागि अपिल गर्न सुझाएका थिए । त्यसपछि उहाँले आफ्नो करिब ८ बर्षको छोरालाई सम्झाउन थाल्नुभयो ।

‘मेरो आँखाको नानी । बाबु, तिमीलाई म धेरै माया गर्छु है । बाबा अल्वेज लभ्स यु है । जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीले सँधै सम्झिनु हुन्छ है बाबा । सानु, अब सुन है । मामुलाई धेरै माया गर्नु । अग्नि बुवा लीला मामुलाई माया गर्नु ।’ उहाँले भिडियो कल छोरालाई सम्झाउँदै भन्नुभएको थियो ।

उहाँले गरेको भिडियो कल सार्वजनिक भएको छ । भिडियोमा बाहिरबाट धुवाँ आइरहेको स्पष्ट देख्न सकिन्छ । बोल्दा-बोल्दै उहाँलाई धुवाँले निकै गाह्रो बनाएको भिडियोमा देखिन्छ ।

मृत्यु आफ्नै देख्नु भएका उहाँले एउटा बाबुले गर्नुपर्ने कर्तव्य गरेर यो संसारबाट बिदा हुनुभएको छ । सानो छोरालाई ‘ठूलो मान्छे बन्नुपर्छ’ भन्दै सम्झाउने प्रयास उहाँले गर्नुभएको छ ।

निराकारले भन्नुभएको छ, ‘सबै भन्दा ठूला कुरा राम्रो मान्छे बन्नुपर्छ है । कसैलाई चिट गर्नु हुँदैन । फ्रड गर्नु हुँदैन । आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा ।’

उहाँले आफ्ना परिवारका सदस्यलगायत आफ्ना ससुरालीपट्टिका सबैलाई सम्झिनु भयो । सबैलाई माया गर्न छोरालाई सम्झाउनु भएको छ ।

‘मामाहरू, माइजुहरूलाई चित्त नदुखाइदिनु तिमीले । धेरै गर्नु भएको छ मामा-माइजुले । लमजुङ बुवा आमाले धेरै गर्नु भएको छ । तिमी ठूलो मान्छे बन्नु, ज्ञानी बन्नु ।’ उहाँले छोरालाई सम्झाउँदै भन्नुभएको छ ।

भिडियोमा उहाँले परिस्थिति आफ्नो बसमा नरहेको पनि संकेत गर्नुभएको थियो । निराकारले भन्नुभएको छ, ‘मैले जे जति गरें तिम्रा लागि गरें । धेरै कोशिस गरें तर सकिन । तिमीसंग बिताएका पलहरू धेरै यादगार रहनेछन् ।’

कम्बोडियाको पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनोमा बुधवार अबेर राति लागेको आगो निभाउन १२ घण्टाभन्दा बढी लागेको थियो । सोही घटनामा निराकारको मृत्यु भएको हो ।

घटनापछि निराकारको शव कुर्न परिवारका सबै सदस्य काठमाडौं गएका छन् । परिवारका सदस्यहरूसंग सम्पर्क हुन सकेको छैन ।

नेपाली दूतावासले उनको शवलाई नेपाल पठाउन पहल गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here