विश्वकप छनोटअघि नेपालले मलेसियासँग टी-२० सिरिज खेल्ने


१३ असार २०७६, शुक्रबार १७:५३ मा प्रकाशित

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटअघि नेपालले मलेसियासँग २ खेलको टी–२० सिरिज खेल्ने भएको छ ।

विश्वकप छनोटको तयारीका लागि नेपालले मलेसियासँग टी–२० सिरिज खेल्ने मलेसियन क्रिकेट संघले जनाएको छ । पहिलो खेल असार २८ गते शनिबार हुनेछ । दोस्रो खेलमा असार २९ मा खेल्नेछ । दुवै खेल मलेसियाको किनरारा ओभलमा स्थानिय समयअनुसार १० बजे हुनेछ ।

सिरिजपछि नेपाली टिम सिंगापुर प्रस्थान गर्ने कार्यक्रम छ । त्यसअघि नेपाली टिम टी–२० विश्वकप छनोटको अन्तिम तयारी मलेसियामा गर्ने छ । नेपालले गत सातादेखि कीर्तिपुरस्थिति टियु मैदानमा हुने पहिलो चरणको तयारी गरिरहेको छ । पहिलो चरणको तयारी २५ जना खेलाडी सहभागी छन् । यी खेलाडीबाट वैदेशिक प्रशिक्षणमा जाने १४ सदस्यीय अन्तिम टिम शनिबार घोषणा हुँदैछ ।

आगामी साउन ६ देखि १२ गते सम्म हुने छनोटमा नेपालसहित ५ टिमको सहभागिता हुनेछ । नेपाल, सिंगापुर, कुवेत, मलेसिया र कतारबीच प्रतिस्पर्धा हुने प्रतियोगिता राउन्ड रोबिनको आधारमा चल्नेछ । विजेता टिम ग्लोबल छनोटमा पुग्नेछ ।

आगामी अक्टोबर ११ देखि ३ नोभेम्बरसम्म हुने आइसिसी टी–२० विश्वकप ग्लोवल छनोट प्रतियोगितामा १४ टिमको सहभागिता हुने छ । प्रतियोगितामा आयोजक युएईसँगै १० टिमको सहभागिता पक्का भइसकेको छ । गत संस्करणको विश्वकप खेलेका स्कटल्यान्ड, जिम्बावे, नेदरल्यन्ड्स, हङकङ, ओमान र आयरल्यान्ड वरीयतामा शीर्ष १० मा पर्न नसकेपछि टी–२० विश्वकप छनोटमा धकेलिएका थिए ।

पपुवा न्युगिनीले पूर्वी एसिया प्यासेफिक क्षेत्रीय छनोट पार गरेर छनोट प्रतियोगितामा स्थान पक्का गरिसकेको छ । अफ्रिकाबाट केन्या र नामिबिया विश्व छनोटमा पुगेका छन् । अब अमेरिकाबाट २ टिम छनोट हुँदैछन् भने एसिया र युरोप छनोटबाट १–१ टिमले स्थान पाउनेछन् ।

६ टिम पुग्नेछन् टी–२० विश्वकपमा

१४ टिमबीच आगामी अक्टोबरमा युएईमा हुने छनोटबाट शीर्ष ६ टिमले सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् । छनोट पार गरेर पुग्ने ६ टिम तथा बंगलादेश र श्रीलंकाबीच टी–२० विश्वकपको समूह चरणमा प्रतिस्पर्धा हुनेछ। समूह चरणबाट ४ टिम सुपर–१२ मा पुग्नेछन् ।

सन् २०१८ को डिसेम्बरसम्म आइसिसीको टी–२० वरीयताको शीर्ष १० टिम टी–२० विश्वकपका लागि छनोट भइसकेका छन् । पाकिस्‍तानसहित भारत, इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, वेस्ट इन्डिज र अफगातिस्तान वरीयताको शीर्ष ८ मा पर्दै सुपर–१२ का लागि सिधै छनोट भइसकेका छन् ।

नवौं वरीयताको पूर्व च्याम्पियन श्रीलंका र दशौं वरीयताको बंगलादेश टी–२० विश्वकपका लागि छनोट भए पनि दुवैले समूह चरणमा छनोट प्रतियोगिताबाट आएका ६ टिमसँग खेल्नु पर्नेछ ।

नेपालको सम्भावना
नेपालले टी–२० विश्वकपका लागि एसियाको पहिलो चरणको छनोट पार गरिसकेको छ । ६ महिनाअघि मलेसियामा भएको छनोट प्रतियोगिता जित्दै नेपाल एसिया छनोटको दोस्रो चरणमा पुगेको थियो ।

सिंगापुरमा हुने दोस्रो चरणको क्षेत्रीय छनोटमा नेपाल, कतार, कुबेत, सिंगापुर र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । जहाँ च्याम्पियन बने नेपालले अक्टोबर २०१९ मा युएईमा हुने टी–२० विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ ।

टी–२० विश्वकप छनोटमा जिम्बावेसहित अघिल्लो विश्वकप खेलेका ८ टिमले खेल्ने पक्का भइसकेको छ । क्षेत्रीय छनोट पार गर्ने बाँकी ४ टिम गरी १४ बीच छनोट हुनेछ । छनोटमा शीर्ष ६ स्थानमा परे नेपालले टी–२० विश्वकप खेल्न पाउनेछ। नेपालले विश्वकप खेल्न सिंगापुरमा हुने प्रतियोगितामा च्याम्पियन र अक्टोबरमा हुने अन्तिम प्रतियोगितामा शीर्ष ६ स्थान हात पार्नु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here