काँकरभिट्टा । तरकारी र फलफूलमा अनिवार्य विषादी अवशेष परीक्षणको व्यवस्था गरिएपछि यतिबेला तरकारी र फलफूल बोकेका मालवहाक ट्रक देशका विभिन्न भन्सार परिसरमा थन्किएका छन् ।
नयाँ व्यवस्थाले तरकारी तथा फलफूल आयातकर्ताले विषादीरहित प्रमाण ल्याएपछि मात्रै भन्सार कार्यालयले सम्बन्धित ठाउँसम्म लैजाने अनुमती दिने नियम बनाएको छ । तर, सीमाक्षेत्रमा विषादीको परीक्षण गर्ने प्रयोगशाला विषादी अवशेष द्रुत परीक्षण इकाई नहुँदा व्यवासायी मारमा परीरहेका छन् ।
एकतातिर प्रयोगशाला अभावमा व्यवसायी समस्यामा परेका छन् भने नाकामा भएका अन्य प्रयोगशाला दश जनशक्ति अभावमा खासै सक्रिय छैनन् । जस्का कारण भारतले बेला बेला नेपालबाट निर्यात हुने बस्तुको आयातमा रोक लागउने गरेको छ । निक्कै सम्वेदनशील मानिएको पूर्वी नाकामा रहेको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टामा सुविधा सम्पन्न प्रयोगशाला र प्रयोगशलामा पर्याप्त उपकरणहरु छन्, तर दक्ष जनशक्ति नहुँदा प्रयोगशाला प्रभावकारी बन्न सकेको छैन । जसको कारण बेला बखत कृषि तथा कृषिउपजमा समस्या आउने गरेको छ ।
कार्यालयका बाली संरक्षण अधिकृत सुरेशकुमार शाह पर्याप्त दक्ष जनशक्ति अभावका कारण सोचे अनुसार प्रयोगशालामा काम नभएको बताछन् । ‘ कार्यालयमा पर्याप्त जनशक्ति छैन् सिमित स्रोत र साधनका वावजुद पनि हामीले सेवाग्राहीको काम छिटो छरितो रुपमा दिईरहेका छौ’ शाहले भने—‘हामीले प्रशासनिक काम गर्नेकी प्रयोगशालाको ।’
कार्यालयमा वरिष्ठ बाली संरक्षण अधिकृतसहित ८ जनाको दरबन्दी छ । शाहका अनुसार अहिले तीनदेखि चारजना कर्मचारीले कार्यालय धान्नु परेको छ । वरिष्ट बाली संरक्षण अधिकृत झण्डै रिक्त झै छ । दुईजना बाली संरक्षण अधिकृतको दरबन्दी भएपनि शाहले एक्लै धानिरहेका छन् । अहिले शाहसहित प्राविधिक सहायक, खरिदार र एकजना कार्यालय सहयोगीले जसोतसो काम गर्दै आएका छन् । वरिष्ठ बाली संरक्षण अधिकृत घनबहादुर थापा भएपनि उनको ‘रिटार्यड’ हुन लागेकाले बाहिरै छन् ।
उनका अनुसार प्रयोगशालाका लागि मन्त्रालयले छुट्टै प्राविधिकको व्यवस्था गरेको छैन । तर यहाँ सेवा लिन आउने सेवाग्राहीलाई सजिलो होस भनेर आफुहरुले जसोतसो र जाने अनुसारको परीक्षण गरी सेवा दिईरहेको कार्यालय सहायक विनयकुमार शाह बताउछन् ।
उनका अनुसार क्वारेन्टाइन कार्यालयले कुषिजन्य उपजको रोगकिराको मात्रै जाँच गर्ने गरेको छ । विषादीको परीक्षणका लागि विर्तामोडस्थित विषादी अवशेष द्रुत परीक्षण इकाईमा पुग्नुपर्छ । कार्यालयमा प्रयोगशालाका लागि प्राविधिकको दरबन्दी समेत छैन । जस्ले गर्दा यहाँको प्रयोगशालामा भएका अत्यन्तै महंगा उपकरणहरु खिया लाग्ने अवस्थामा छन् । परीक्षणका लागि अत्यधिकरुपमा नमुना आउने गर्छ । कार्यालयका प्राविधिक सहायकले आफुले जाने अनुसारको परीक्षण गर्ने गरेका छन् । नमुना आएपनि जनशक्ति अभावमा प्रयोगशाला सुस्त छ ।
अहिले यहाँ तरकारीमा स—साना कीरा भए नभएकोमात्र प्रयोगशलामा हेरिन्छ । क्वारेन्टाइन कार्यालयले कृषिजन्य उपजको रोगकिराको मात्रै जाँच गर्ने भएपनि भाइरस, व्याक्ट्रेरिया फंगललगायतको परीक्षण त्यहाँ हुदैन । तर त्यसैका लागि करोडौं रुपैयाँ मुल्य पर्ने उपकरणहर प्रयोगशालामा राखिएको छ । उपकरण भएपनि दक्ष प्राविधिक नहुँदा उपकरण प्रयोगविहनिमात्र छैनन् व्यवसायीले समेत धेर थोर समस्या व्यहोरीरहेका छन् । उपकरण प्रयोगविहीन हुँदा यसमा सरकारले गरेको लगानी वालुवामा पानी सरह झै भएको टिप्पणी हुन थालेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय प्लान्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्र अन्तर्गतको यो कार्यालयमा तत्काल दक्ष जनशक्तिको व्यवस्था गरी यहााको प्रयोगशालालाई प्रयोगमा ल्याउनुपर्ने आवश्यक छ ।
भारतबाट तरकारी आयात घट्यो
मेची भन्सार कार्यालय काँकरभिट्टा भएर भारतबाट आयात हुने हरियो तरकारीमा कमि आएको छ । तर, फलफूल आयात भने सन्तोषजनक छ । तरकारी र फलफूलमा अनिवार्य विषादी अवशेष परीक्षणको व्यवस्था गरिएपछि यो नाका भारतबाट आयात हुने हरियो तरकारीमा कमि आएको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।
तरकारी तथा फलफूल आयातकर्ताले विषादीरहित प्रमाण ल्याएपछि मात्रै भन्सार कार्यालयले सम्बन्धित ठाउँसम्म लैजाने अनुमती दिने नियम बनाएको छ । तर, काँकरभिट्टामा विषादीको परीक्षण गर्ने प्रयोगशाला विषादी अवशेष द्रुत परीक्षण इकाई नहुँदा व्यवासायीहरु १७ किलोमिटर टाढा विर्तामोड पुग्नुपर्ने अवस्था छ ।
‘केही दिनयतादेखि यो नाका भएर भारतबाट आयात हुने हरियो तरकारीमाकमि आएको छ ’कार्यालयका बाली संरक्षण अधिकृत सुरेशकुमार शाहले भने— ‘ क्वारेन्टाइन कार्यालयले कुषिजन्य उपजको रोगकिराको मात्रै जाँच गर्ने गरेको छ । विषादीको परीक्षणका लागि विर्तामोडस्थित विषादी अवशेष द्रुत परीक्षण इकाईमा पुग्नुपर्छ ।’ सिजनमा दैनिक १० देखि १५ बेमौसममा समेत ८ देखि १० ट्रक हरियो तरकारी आयात हुने गर्दथ्यो । केह दिनयतादेखि १ ÷२ ट्रकमात्र हरियो तरकारी आयात हुने गरेको छ । तर, फलफूलको आयातमा भने कुनै कमि आएको छैन् ।





