काठमाडौं । नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सन्तोषजनक आउन नसकेको बताएका छन् ।
शिक्षण क्रियाकलापमा हुने कमजोरीले अपेक्षित नतिजा हासिल हुन नसकेको उनको भनाइ छ । ‘व्यवहारिक शिक्षा प्रणालीलाई लागू गर्नुपर्छ । अहिलेको शिक्षा पद्धती नै गलत छ’, शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले भने ।
उच्च माध्यमिक विद्यालय संघ (हिसान)का महासचिव लोकबहादुर भण्डारीले नेपालमा पाठ्यक्रम विकास गर्दा पर्याप्त छलफल तथा परामर्श हुन नसकेको बताए । ‘सामुदायिक विद्यालयले परीक्षाको बेलामा मात्रै ध्यान दिएर हुँदैन । परीक्षा अघि र पछिको व्यवस्थापकीय कुरामा पनि ध्यान दिनुपर्छ’, उनले भने ।
एनप्याव्सनका अध्यक्ष ऋतुराज सापकोटाले केन्द्रगत परीक्षा प्रणाली नै गलत रहेको टिप्पणी गरे । प्रदेश नम्बर २ को एसइईको नजिता सन्तोषजनक नआएको उनको भनाइ छ । सरकारले मुलुकको शैक्षिक प्रणालीलाई सुधार गर्नेगरी कुनै उल्लेख्य काम नै गर्न नसकेको प्याव्सनका सहअध्यक्ष डिके ढुंगानाले आरोप लगाए । उनले भने, ‘सरकारले शिक्षा क्षेत्रमा दशकौंदेखि काम गर्दै आएका हामीजस्तो सरोकारवालाको कुरा सुन्नै चाहँदैन । अनि कसरी शिक्षा क्षेत्रको विकास र गुणस्तरीयता कायम हुन्छ ?’
कार्यक्रममा राजनीतिक विश्लेषक सुरेन्द्र केसीले एसइईको कुनै सान्दर्भिकता नभएको दाबी गरे । शिक्षा आयोग गठन गर्दा नै गलत गरिएकोले अपेक्षा गरेअनुसार परिणाम नआएको उनले बताए । ‘राजनीतिक प्रणाली सप्रियो भने शैक्षिक प्रणाली स्वतः सुध्रिन्छ’, उनले भने ।





