पोखरा महानगरमा कांग्रेसनिकट जनप्रतिनिधिले लगाएको ताला खुल्यो


१३ असार २०७६, शुक्रबार १६:२३ मा प्रकाशित

पोखरा । पोखरा महानगरपालिकाको बजेटप्रति असन्तुष्ट नेपाली कांग्रेसनिकट ११ वडाध्यक्षसहितका जनप्रतिनिधिले आन्दोलन फिर्ता लिएका छन् ।

आन्दोलन फिर्तासँगै जनप्रतिनिधिले पोखरा महानगरपालिका कार्यालयमा गरेको तालाबन्दी शुक्रबार खुलेको छ । वडागतरुपमा अत्यावश्यक योजनालाई हेरफेर गर्नसकिने सहमति भएपछि ताला खोलिएको हो ।

बुधबारको नगरसभा बैठकमा कांग्रेसबाट निर्वाचित वडाध्यक्षले बजेट विनियोजन असमान भएको भन्दै ‘रेडबुक’ च्यातेका थिए । वडा नम्बर–४ का वडाध्यक्ष शंकर बास्तोलाले मेयरले रेडबुकबारे छलफलका लागि कुरा राख्न समय नदिएको भन्दै कुर्सी र सोफा फालेका थिए । नगरसभामा राखिएको ‘एअरकुलर’समेत लडाएका थिए ।

रेडबुक आइसकेपछि त्यसबारे छलफल हुनुपर्नेमा छलफलको समय र बजेटबारे बोल्ने मौका पनि नदिइएको जनप्रतिनिधिको आरोप थियो । उनीहरुले आफूहरुको माग सम्बोधन हुनुपर्ने माग राख्दै बिहीबार महानगरको मूलद्वारमा ताला लगाएर दिनभर धर्ना बसेका थिए ।

शुक्रबार बिहान पोखरा महानगर प्रमुख मानबहादुर जिसीले पत्रकारसँग कुरा गर्दै बजेटमा भेदभाव नगरिएको र मूलद्वारको ताला खोलेर वार्ताद्वारा सहमति खोज्न आन्दोलनरत् जनप्रतिनिधिलाई आग्रह गरेका थिए ।

पोखरा महानगरले मंगलबार सात अर्ब ५४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । बजेटको ३६ प्रतिशत भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । बजेटमाथि बुधबार छलफलपछि विनियोजन विधेयक पारित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here