प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणाम सुखद रहेनः राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना


१७ मंसिर २०७९, शनिबार १३:०४ मा प्रकाशित

काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणाम सुखद नरहेको टिप्पणी गर्नुभएको छ ।

दलहरुमाथि नै प्रश्न उठने गरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको उहाँले बताउनुभएकाे हाे ।

आज शनिबार ललितपुरमा आयोजित ‘जापान विगत, वर्तमान र भविष्य’ विषयक एक दिने सेमिनारमा बोल्दै अध्यक्ष तिमिल्सिनाले ठूलो बलीदानीपूर्ण संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउनका लागि दलहरु बलियो हुनुपर्ने उल्लेख गर्नुभयाे ।

त्यस काममा लाग्न बौद्धिक समुदायलाई उहाँले आग्रह समेत गर्नुभयो ।

उहाँले सचेत समुदायले दलहरुलाई सच्याउन सके मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र जनताले समृद्धिको अनुभूति गर्न पाउने गरी विकास निर्माणको कामले गति लिने पनि स्पष्ट पार्नुभयो । अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरुलाई सच्चिन पनि पटक-पटक ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले जापानले विकासको क्षेत्रमा चमत्कार देखाएको उल्लेख गर्दै त्यसबाट सिकेर नेपाल पनि अघि बढन ढिलाई गर्न नहुने बताउनुभयो । साेही अवसरमा उहाँले जापानले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको खुलेर प्रशंसा समेत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here