नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ काठमाडौंमा सुरु


९ मंसिर २०७९, शुक्रबार १६:५३ मा प्रकाशित

झापा । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।

सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा ९ दिनसम्म चल्ने महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गर्नुभयो ।

१२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रम हुने महोत्सवमा विश्वभरीबाट २०० भन्दा बढी नाट्य कलाकारहरु सहभागी भएका छन् । महोत्सवको उद्घाटन गर्दै पर्यटन मन्त्री श्रेष्ठले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने नाट्य क्षेत्रलाई सरकारले सदैव प्राथमिकतामा राखेको बताउनुभयो ।

त्यस्तै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले बार्षिक क्यालेण्डरमा नै राखेर नाट्य , फिल्म जस्ता महोत्सव आयोजना गर्न महानगर उत्सुक रहेको बताउनुभयो । त्यस्तै भारतकी सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमीले नाट्य क्षेत्र कलाको उच्चतम विधा भएको बताउनुभयो ।
महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here