झापा । झापाको बिर्तामोडमा तीनदिने प्रदेशस्तरीय खोज पत्रकारीता सम्बन्धी तालिम आजबाट सुरु भएको छ ।
नारी सञ्चार गृहको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर १ को सहयोगमा सञ्चालन भएको तीनदिने तालिम आजबाट सुरु भएको हो । तालिममा झापा, इलाम, मोरङ, सुनसरी र पाँचथरका २५ जना भन्दा धेरै पत्रकारहरुको उपस्थिती थियो ।

कार्यक्रमको उद्घाटन प्रदेश नं १ का आन्तरीक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणी रिजालले गरेका थिए ।उनले सञ्चार क्षेत्रमा गरेको उपलब्धिका बारेमा कार्यपत्र समेत पेस गरेका थिए । त्यस्तै उद्घाटन समारोहमा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा, प्रदेश नं १ पत्रकार महासंघका उपाध्यक्ष शोम सुशेलि, पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी लगायत ६० जना भन्दा धेरैको उपस्थिती थियो ।

तालिमको पहिलो दिन आज नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले प्रशिक्षण दिएका थिए । उनले नेपाली पत्रकारीतामा खोज पत्रकारीताको प्रयोग न्युन रहेको भन्दै यसको प्रयोग र प्रभावकारीतालाई जोड दिनुपर्ने बताए । उनले खोज पत्रकारीताको अवस्था, यसले पार्ने प्रभाव र महत्वको बिषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
तालिमको दोस्रो र तेस्रो दिन मोहन मैनाली र चिनतामणी दाहाले प्रशिक्षण दिने आयोजकले जानकारी दिए ।





