प्रकाश सपुतमाथि अपमानजनक अभिव्यक्ति दिनेलाई कारवाहीको माग


११ असार २०७६, बुधबार १४:२९ मा प्रकाशित

बाग्लुङ । गीतको लय जुधेको विषयलाई लिएर गायक प्रकाश सपुतमाथि सामाजिक सञ्जालमा अपमानजनक र तुच्छ अभिव्यक्ति दिनेलाई कारवाहीको माग गरिएको छ ।

विश्वकर्मा समाज बागलुङले आज प्रेस विज्ञप्ति जारी गर्दै सिङ्गो दलित समुदायप्रति नै आघात पुग्ने गरी टिप्पणी गर्ने सुवास मङ्गोललगायत व्यक्तिलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेको हो । “नेपालको संविधान २०७२ र जातीय विभेद तथा छुवाछूत कसुर सजाय ऐन, २०६८ अनुसार कारवाही गर्न नेपाल सरकारसमक्ष माग गर्दछौँ”, विज्ञप्तिमा उल्लेख छ ।

जातीय तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जालमा विचार, टिप्पणी नराख्न पनि समाजले सबैसँग आग्रह गरेको छ । “कहीँ कतैबाट सामाजिक सद्भाव भड्किने खालका गतिविधि हामीलाई मान्य छैन”, समाजका संयोजक ताराबहादुर विश्वकर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ

गायक तथा सर्जक सपुतको मौलिक लोकदोहोरी गीत ‘गलबन्दी’ को लय गायक शम्भु राईको देउसीभैलो गीतको लयसँग मिलेको भन्दै केही साताअघि विवाद बाहिर आएको थियो । गायक तथा सङ्गीतकार राईले सपुतलाई लय चोरीको आरोप लगाउँदै आएका छन् । सोही विषयलाई लिएर सपुत र राईको पक्ष–विपक्षमा सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ ।

जातीय विभेद झल्कने गरी सपुतमाथि गरिएको दुव्र्यवहारको विषय ससंद्मा समेत पुगेको थियो । दलित समुदायका केही सासंदहरुले उक्त घटनाप्रति आपत्ति जनाउँदै कानूनी कारवाहीको माग गरेका थिए । बागलुङको धम्जामा जन्मिएका गायक सपुत र शान्ति श्री परियारले गाएको लोकदोहोरी गीत ‘गलबन्दी’ अहिले सर्वाधिक चर्चामा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here