मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले खुला सिमानाका कारण लागुऔषधको समस्या दिनप्रतिदिन विकराल बन्दै गएको बताएका छन् ।
बुधबार लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा झापाको मेचीनगरमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची सामुदायिक प्रहरी सेवाकेन्द्रले संयुक्तरुपमा आयोजना गरेको र्यालीपछिको कोण सभालाई सम्बोधन गर्दै प्रमुख आचार्यले यस्तो बताएका हुन् । उनले यो कार्यक्रम सानो भएपनि सन्देश भने ठूलो दिएको बताए ।
नेपाल प्रवेशको पूर्वको पहिलो द्वार भएका कारण संयौको संख्यामा विदेशी पर्यटक नेपाल घुम्न यहि नाका भएर प्रवेश गर्ने गरेको बताउँदै उनले उनीहरुलाई हामीले शुरुमै सकरात्मक सन्देश दिन सके विश्वले नेपाललाई हेर्ने दृष्टिकोण पनि सकरात्मक हुने हुँदा यसतर्फ आम नगरवासी लाग्नुपर्ने बताए । तर दिनप्रतिदिन यो नाका लागुऔषधको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको र अबैधरुपमा हुने लागुऔषधको ओसार पसार निक्कै चुनौती रहेको विचार प्रमुख आचार्यले व्यक्त गरे ।
कार्यक्रमका विशेष अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीले लागुऔषधको अवैध ओसार पसार र कुलत शुन्यमा झार्न खास गरी खुला सिमानानै मुख्य चुनौती भएको दावी गरिन् । उनले जबसम्म कानुन दहे बन्दैनन् अनि बनेका कानुनहरु पनि कडाईरुपमा कार्यान्वयनमा आउदैनन् तब सम्म यो समस्या ज्यूँ का त्यूँ रहने बताईन् ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरबाट ‘समृद्घ राष्ट्र निर्माणका लागि लागु औषध रहित स्वस्थ जीवन’ सहित स्वस्थ्य, सवल र समृद्घ नेपालको प्रतिवद्घता, लागुऔषध अपराध विरुद्घको ऐक्यवद्घता, हाम्रो चाहाना लागुऔष रहित, स्वस्थ्य र सुखी जीवनको कामना, लागु पदार्थको सेवन, गयो अमुल्य जीवन, लागु पदार्थको नशा जीवनको दशा, लागुऔषध त्यागौ, स्वस्थ्य र सुखी जीवनतर्फ लागौं भन्ने विभिन्न चेतनामुलक नारा लेखिएका प्ले कार्ड र ब्यनरसहित संयौको संख्यामा निस्केको र्यालीले बाहुनडाँगी रोड, बसपार्क, ६ नम्बर वडा कार्यालय रोड, गुरास पथ, भट्टराई चोकलगायतका स्थान परिक्रमा पश्चात मेची भन्सार कार्यालयको पुरानो यात्रु शाखा परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभाको सञ्चालन इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक कोमल ठाकुरले गरेका थिए । र्यालीमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायय उपरीक्षक गोविन्दकुमार कार्की, सशस्त्र प्रहरी निरीक्षक दिव्यराज कोइराला, लागुऔषध नियन्त्रण व्युरो शाखा काँकरभिट्टाका प्रहरी अधिकृतहरु, सरकारी, गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधिहरु, पूर्व प्रहरीहरुको संगठन उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।





