मलंगवा । सर्लाहीकाे बागमती नगरपालिका-१, मिलनचाेक स्थित सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनकाे सेवा केन्द्रका प्रमुख साजन कार्कीमाथि गाेली प्रहार गरेकाे आराेपमा प्रहरीले ४ जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा ३ जना भारतीय नागरिक तथा एकजना नेपाली रहेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय मलंगवाकाे संयुक्त टाेलीले अभियुक्तहरुलाई पक्राउ गरेकाे प्रहरी उपरीक्षक प्रविण पाेखरेलले जानकारी दिनुभयो ।
पक्राउ पर्ने भारतीयहरुमा बिहार राज्यकाे जिल्ला शिवहर थाना छप्रा ग्राम पंचायत तरयानी छप्रा वडा नं. ८ बस्ने भूषण सिंहको छोरा १९ वर्षीय रेहान भन्ने आलोक सिंह, जिल्ला बैशाली थाना उद्याेगी क्षेत्र ग्राम पंचायत सुलतानपुर वडा नं. १० बस्ने अरबिन्द कुमार यादवको छोरा १९ वर्षीय सौरभ कुमार यादव, जिल्ला मोतिहारी थाना सिगारगंज ग्राम पंचायत हराज वडा नं. १२ निबासी अरुण सिंहको छाेरा १९ वर्षीय गुलसन कुमार सिंह रहेका छन् ।
त्यस्तै सर्लाही धनकौल गापा वडा नं. १ निवासी सोनफी सहनीको छोरा ३२ वर्षीय डिजे भनिने धिरेन्द्र सहनी पनि घटनामा संलग्न भएकाे आराेपमा पक्राउ परेका छन् ।
बुधबार बिहान साँढे १० बजे तिर ३ जनाकाे समूहमा आएका लुटेराले सेवा केन्द्रकाे कार्यालय भित्र पसेर प्रमुख कार्कीलाई पैसा दिन भन्दै धम्क्याएपछि कार्कीले प्रतिकार गरेका थिए ।
प्रतिकार गर्ने बितिकै लुटेरा समूहले कार्कीमाथि गाेली प्रहार गरेकाे थियाे । गाेली प्रहार गरेपछि ३ जना भारतीय नम्बर प्लेटकाे एउटै माेटरसाइकलमा चढेर दक्षिणतर्फ भागेका थिए । कार्कीकाे शरिरका विभिन्न ३ ठाउँमा गाेली लागेकाे प्रहरीले जनाएकाे छ ।
लालबन्दी नगरपालिका-२, जुटपानी निवासी ३० वर्षीय कार्कीकाे हरिवन स्थित सरस्वती अस्पतालमा प्राथमिक उपचार पश्चात् हाल ललितपुरकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ ।
पक्राउ परेका अभियुक्तहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय मलंगवाकाे हिरासतमा राखेर विस्तृत ढंगले अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ । छानविन पश्चात घटनाकाे कारण लगायत विस्तृत जानकारी आउने प्रहरीले जनाएकाे छ ।





