सोलुखुम्बु । सोलुखुम्बु भ्रमणमा आएका एक विदेशी पर्यटक अज्ञात व्यक्तिको ढुङ्गा प्रहारबाट घाइते भएका छन् । घाइते हुनेमा अमेरिकी नागरिक २५ वर्षीया महिला क्याथृङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार असोज २७ गते बिहीवार सोलुदुधकुण्ड नगरपालिका २ को सलुङ जङ्गलमा हिँड्दै गर्दा क्याथृङलाई एक अपरिचित पुरुषले टाउकोमा ढुङ्गा प्रहार गरी घाइते बनाएका हुन् ।प्रहरीका अनुसार सुरुमा ती पुरुषले विदेशीसँग डलर मागेको तर विदेशी महिलाले रकम दिन इन्कार गर्दा एक्कासी टाउकोमा ढुङ्गा प्रहार गरी भागेका थिए । ढुङ्गा प्रहारबाट विदेशी महिलाको टाउकोमा गहिरो चोट लागेको छ ।घटनामा संलग्न भएको आरोपमा प्रहरी चौकी बेनीबाट खटिएका प्रहरी टोलीले ३५ वर्षीय दावा जाङ्बु शेर्पालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
अज्ञात व्यक्तिको ढुङ्गा प्रहारबाट एक विदेशी पर्यटक घाइते
३० आश्विन २०७९, आईतवार १३:०२ मा प्रकाशित





