पाँचथर । पूर्वी पहाडि जिल्ला पाँचथरका अव्यवस्थित बसोबासी तथा सुकुम्बासीले अझैसम्म आफूले भोग चलन गर्दै गरेको जमिनको धनीपुर्जा पाउन सकेका छैनन् ।
छिमेकी जिल्ला झापामा त्यस्ता सकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गा धनीपुर्जा पाउन थालिसक्दा पाँचथरमा भने यो समस्या समाधानका लागि काम शुरु हुनै सकेको छैन । चार दशकसम्म भोगचलन गरेको जग्गा आफ्नो नाममा आउन नसक्दा पाँचथरका अव्यवस्थित बसोबासी निराश बनेका हुन् । तीस वर्षे पञ्चायतकालमा पनि छुटफुट नापीबाट जग्गा धनीलाई लालपूर्जा दिइने कुरा गरिए पनि उनीहरुले धनीपुर्जा पाएनन् ।
त्यसपछि विभिन्न आयोग गठन भएपश्चात धनीपुर्जा पाउने उनीहरुको आशा अहिलेसम्म साकार हुन सकेको छैन । सरकारले सुकुम्बासीहरुको समस्या हल गर्न बनाएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाँचथरमा अहिले पाँच हजार भन्दा बढी सुकुम्बासीहरुले निवेदन दिएको समितिले जनाएको छ । समितिले आइतबार पत्रकार सम्मेलन गरि पाँचथरमा बिभिन्न समयदेखि हालसम्म ५ हजार ८५ जना भूमिहीन सुकुम्बासीले राष्ट्रिय भूमि आयोग जिल्ला समितिसमक्ष जग्गा प्राप्तिका लागि निवेदन दिएको जनाएको हो ।
निवेदन दिनेमध्ये भूमिहीन दलित ९०, भूमिहीन सुकुम्बासी १ सय २२ र अव्यवस्थित बसोबासी ४ हजार ८ सय ७३ रहेको आयोगले जनाएको छ । जिल्लाको ८ स्थानीय तहमध्ये याङवरक गाँउपालिका बाहेक सबै पालिकाबाट निवेदन आएको समितिले जनाएको छ । मिक्लाजुङ गाउँपालिकाबाट मात्रै जग्गा प्राप्तिका लागि १ हजार ७ सय ७६ जनाले निवेदन दिएको समितिका अध्यक्ष दिनेश लावतीले जानकारी दिनुभयो ।
फालेलुङबाट ८ सय ७८, तुम्बेवाबाट ८ सय ३०,फिदिम नगरपालिकाबाट ७ सय ९६ , हिलिहाङबाट ७ सय २७, फाल्गुनन्दबाट ४२ र कुम्मायकबाट ३३ जनाको निवेदन परेको छ । हिलिहाङ गाउँपालिकाले निवेदकलाई अस्थायी निस्सा उपलब्ध गराइसकेको छ भने मिक्लाजुङ गाउँपालिकामा डाटा प्रविष्ट गर्ने काम भइरहेको समितिले जनाएको छ ।





