निजामती सेवा दिवसका अवसरमा कर्मचारीबीचको ब्याडमिन्टन प्रतियोगिता भद्रपुरमा सुरु


१९ भाद्र २०७९, आईतवार १६:१९ मा प्रकाशित

झापा । निजामती सेवा दिवस २०७९ को अवसरमा कर्मचारीहरूबीचको मेन्स् डबल ब्याडमिन्टन प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।

मेची रंगशाला भद्रपुरको कभर्ड हलमा प्रतियोगिता सुरु भएको हो । कर्मचारी मिलन केन्द्र भद्रपुरका सदस्यहरूबीच मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको हो ।

आइतबारको प्रतियोगितामा राष्ट्रिय बाणिज्य बैंक बिर्तामोडको जोडी र नेपाल विद्युत प्राधिकरण अनारमनीको जोडीबीच भएको प्रतिष्पर्धामा बाणिज्य बैंकको जोडी विजयी भएको थियो । बाणिज्य बैंकबाट प्रमोद ओझा र खगेन्द्र कन्दङ्वाको जोडी तथा विद्युत प्राधिकरणबाट प्रकाश विक र नवीनकुमार यादवको जोडी प्रतिष्पर्धामा भिडेका थिए ।

बाणिज्य बैंकको जोडीले प्राधिकरणको जोडीलाई २१-१५, २४-२२ को सोझो सेटमा पराजित गर्यो ।

अर्को प्रतिष्पर्धामा नेपाल विद्युत प्राधिकरण भद्रपुरका भूमिप्रसाद तिवारी र नवीन दाहालको जोडी र अर्जुनधारा नगरपालिकाका हिमराज सेडाइँ र बीपीन लम्सालको जोडी भिडेका थिए । अर्जुनधारा नगरपालिकाको जोडीले प्राधिकरणको जोडीलाई २१-१८, २१-१६ को सोझो सेटमा पराजित गरेको छ ।

प्रतिष्पर्धा सुरु हुन अघि प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र उद्योगी दिपेश ढकालको जोडी तथा पत्रकारहरू इन्द्रजित मुखिया र उमाकान्त खनालको जोडीबीच मैत्रीपूर्ण खेल भएको थियो ।

प्रतियोगिताको फाइनल खेल अघिका खेलहरू सोमबार पनि हुनेछन् । प्रतियोगितामा प्रथम हुने समूहले १० हजार रुपैयाँ, दोस्रो हुनेले ७ हजार रुपैयाँ र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यही भदौ २२ गते मनाइने निजामती सेवा दिवसको पूर्वसन्ध्यामा कर्मचारी मिलन केन्द्र भद्रपुरका सदस्यहरूबीच प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक डिभिजन सिँचाइ कार्यालयका भद्रपुरका प्रमुख कृष्ण राजवंशीले जानकारी दिए । प्रतियोगिताको समापन मंगलबार हुनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here