चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ ।
नेपाल विद्युत् प्राधिकरणले भरतपुरमा सुरु गर्न लागेको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको आज चितवनमा शिलान्यास गर्दै अध्यक्ष दाहालले सङ्कल्पमा जनताको निरन्तर सहयोग रहने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो । भूमिगत विद्युतीकरणले जनताको सुरक्षा र नगरको सौन्दर्यता बढाउने उहाँको भनाइ थियो ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकाको प्रयास र समन्वयका कारण छिटो काम सुरु भएको भन्दै ठेकेदार कम्पनीलाई समयमा काम सम्पन्न गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परियोजनाको काम दुई वर्षमा सम्पन्न गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
प्राधिकरणले अहिले रु १६ अर्ब नाफा गरेको उहाँले जानकारी दिनुभयो । अहिले दैनिक रु १० करोडदेखि रु १२ करोडसम्म बिजुली बेचिरहेको उहाँको भनाइ थियो ।