काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र बलियो हुँदै गएको दाबी गर्नुभएको छ ।
उहाँ अर्थतन्त्र बिस्तारै लयमा फर्कने क्रममा रहेको बताउनुभएको हो ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्र सकारात्मक सुधारमा रहेको दाबी गर्नुभयो ।
मन्त्री शर्माले चाडबाड सुरु भएसँगै विप्रेषण बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै गएको बताउनुभयो ।
उहाँले देशमा विप्रेषण बढेसँगै विदेशी मुद्रा सञ्चिती बढ्दै जाने र अर्थतन्त्र सबल हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री शर्माले तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने र चालु आवमा बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।