कोलम्बो । श्रीलंकाका अपदस्थ पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किनु भएको छ ।
टापुको सबैभन्दा खराब आर्थिक संकटबीच देश छाडेर भागेको सात हप्ता पछि उहाँ शुक्रबार स्वदेश फर्किनु भएको हो। राजापाक्षे स्वदेश फर्किएको कोलम्बोका विमानस्थलका अधिकारीहरुले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
राजापाक्षे विमानस्थलमा उत्रँदा उहाँलाई मन्त्रीहरू र राजनीतिज्ञहरूको समूहले भव्य स्वागत गरेको थियो ।
यसले श्रीलंकामा उहाँको राजनीतिक प्रभाव यथावत रहेको संकेत गरेको छ । विमानस्थलमा उत्रने वित्तिकै उहाँलाई माला लगाएर स्वागत गरिएको थियो ।
राजधानी कोलम्बोको राष्ट्रपति भवन र अन्य धेरै सरकारी कार्यलयमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि ७३ वर्षीय राजापाक्षे देश छोडेर भाग्नु भएको थियो ।
श्रीलंका एयरफोर्सको विमानमा माल्दिभ्स पुगेका उहाँ त्यहाँबाट सिंगापुर जानु भएको थियो । उहाँले १३ जुलाइमा सिंगापुरबाटै राजीनामा पठाउनु भएको थियो ।