बिर्तामोड नगरपालिकाको विशेष नगरसभाः ३ वटा महत्वपूर्ण विधेयक पास


१४ भाद्र २०७९, मंगलवार ०७:४९ मा प्रकाशित
झापा । बिर्तामोड नगरपालिकाले विशेष नगरसभा मार्फत ३ वटा विधेयक पास गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज आयोजित विशेष नगरसभाले विधेयक पास गरेको हो ।
विशेष नगरसभामा आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९, शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र नगरको यातायात तथा बसपार्क व्यवस्थापन गर्न बनेको विधेयक २०७९ सर्वसम्मतिले पास गरेको हो । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९ सभामा प्रस्तुत गर्नु भएको थियो । यस्तै विधेयक समिति संयोजक शर्मिला राजवंशीले शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र यातायात व्यवस्थापन विधेयक २०७९ सभामा प्रस्तुत गर्नु भएको थियो ।
विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै सभाकी अध्यक्ष नगरप्रमुख पवित्रा महतारा प्रसाईले कानून अत्यन्त आवश्यक भएकाकारण विशेष सभाबाट पास गरेको र आजकै दिन देखि लागु हुने बताउनु भयो । संविधानले स्थानीय सरकारलाई दिएको अधिकारलाई प्रयोग गर्दै काम गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । ऐन कानून वेगर बनेका कामहरुमा कुनै पनि असहजता सृजना भएको बेला कानूनी समस्या आउने भन्दै नगरप्रमुख प्रसाईले कानुनतः काम गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिनु भयो ।
सभामा बोल्दै वडा नम्बर ६का वडाध्यक्ष तथा नेपाली कांग्रेस बिर्तामोड नगर कमिटीका कार्यवहाक सभापति सूर्यप्रसाद कन्दङ्वाले नगरको विकासको लागि नगरका जनताको हितमा विशेष नगरसभा मार्फत विधेयक पास गरेको बताउनु भयो । ऐनले सबैलाई अनुशासित बाटोमा हिँडाउने भन्दै उहाँले कार्यान्वयनमा जोड दिनु भयो । बिर्तामोड नगरपालिकाको भदौ १० गते बसेको कार्यपालिका बैठकले पास गरेर आज विशेष नगरसभामा विधेयक प्रस्तुत गरिएको हो । कार्यपालिका बैठकले अस्पताल सञ्चालन कार्यविधि २०७९, अनुगमन समिति सञ्चालन कार्यविधि २०७९, लेखा समिति सञ्चालन व्यवस्थापन कार्यविधि २०७९ र शहरी वस्ती विकास योजना तथा भवन निर्माण मापदण्ड र इजाजत सम्वन्धि कार्यविधि २०७९ पारित गरेको नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिनु भयो ।
जिल्ला समन्वय समिति झापाकी उपसंयोजक शान्ता रोक्काको आतिथ्यता रहेको यस विशेष नगरसभामा प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना, सबै वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्य,वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here