झापा । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ आयोजित नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि झापाले खेलाडी छनोट गरेको छ ।
झापाको चन्द्रगढीस्थित मेची रंगशालाको खेलकुद हलमा सोमबार खेलाडी छनौट सम्पन्न भएको हो । खेलकुद प्रतियोगितामा समावेश गरिने ३६ खेलमध्ये २७ खेलमा प्रतिस्पर्धा गर्न झापाबाट ४ सय ५१ खेलाडी छनोट गरिएको छनोट समितिका सचिवालय सदस्य दुर्गाराज निरौलाले जानकारी दिनु भयो । कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिमा आवद्ध भइ २०५२ सालबाट तेक्वान्दो प्रशिक्षकका रुपमा रहनुभएका प्रदिपकुमार श्रेष्ठ र हक्की खेलका प्रशिक्षक ज्ञानेन्द्रबहादुर खड्काको कार्यकाल सकिएकाले उहाँहरुलाई सम्मानसहित बिदाई गरिएको थियो ।

सोमबार राष्ट्रिय खेलकुद परिषदको ५९ औं बार्षिकोत्सव परेकाले कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी बल २ नम्वर गणका फडिन्द्र थापाले संयुक्त रुपमा मेची रंगशाला र प्राङ्गण वरिपरि सिसौ, सल्ला र अन्य बिरुवा रोपेका थिए । झापा खेलकुद बिकास समितिका कर्मचारीले उक्त ठाउँमा सरसफाइसमेत गरेका थिए ।
झापा खेलकुद बिकास समिति अन्तर्गत नव निर्वाचित प्रमुख प्रशिक्षक कालु मेचेलाई स्वागत एवं सम्मान गरिएको कार्यक्रममा प्रमुख अतिथि रिजालले फरक खेल आरचरी खेलेर छनोट भएका खेलाडीको हौसला बृद्धि गर्नुभएको थियो । उहाँले समितिका कर्मचारीले विधि र प्रक्रियामा रहेर निकासा गरिएको बजेटलाई बेरुजु नहुने गरि परिचालन गर्दै खेलकुदको बिकासमा लाग्न आग्रह गर्नु भयो ।
झापाका खेलाडी अन्य स्थानको भन्दा फरक र संख्या पनि धेरै भएकाले निखारिएका खेलाडीको छनोट गरिएको झापा खेलकुद बिकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले बताउनु भयो ।
भण्डारीले तीन पटक खेलकुद प्रतियोगिताको मिति सर्दै यो समयसम्म आइपुग्दा खेलाडीहरुले भोकतिर्खा नभनी झापाको प्रतिनिधित्व गर्दै उच्च खेल प्रस्तुत गर्न गरेको मेहेनतको प्रशंसा गर्नुभयो ।





