काठमाडौँ । शहरी विकासमन्त्री मेटमणि चौधरीले मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जाने बताउनुभएको छ ।
शनिबार बुटवलमा रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले मुलुकमा संविधानलाई संस्थागत विकास गर्नको लागी गठबन्धन दलहरु बिजय हुनुपर्ने औँल्याउनु भयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पटक पटक संविधानलाई विघटन गरेर मुलुकमा अराजकता फैलाउने काम गरेकाले संविधान विरोधी तत्वहरुबाट देश बचाउन पनि सबै पार्टीहरु एकजुट हुनुपरेको जिकिर गर्नुभयो ।
नेकपा एसका पोलिटब्यूरो सदस्य समेत रहनु भएको चौधरीले मुलुक सम्बृद्धिको बाटो अघि बढिरहेको बेला फेरी मुलुकमा गोलचक्करमा पार्ने काम भएको भन्दै त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताउनुभयो । उहाँले नेकपा एमालले कानुनी राज्यको धज्जी उडाउँदै संसददीय प्रणालीमा वितृष्णा ल्याउने काम भएकाले बाध्य भएर अन्य दलसगँ गठबन्धन गर्नुभएको बताउनुभयो ।
मन्त्री चौधरीले शहरी नीति विकास २०६४ पारित गर्ने तयारीमा रहेको बताउँदै जनतालाई उपभोक्ता मार्फत विकास निर्माणका काममा जोडेर अगाडि जाने नीति सरकारको रहेको बताउनुभयो । रुपन्देही क्षेत्र २ मा विष्णु पौडेलसँग नेकपा एसका नेता राजु गुरुङ्ग भिड्ने बताउँदै यो निर्वाचनबाट गठबन्धन विजय हुने दाबी गर्नुभयो ।





