काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
केहीबेरअघि सुरू भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बालुवाटार स्रोतले बताएको छ । आज हुने भेटमा लोकसेवा आयोगको विज्ञापन खारेज नगर्ने सरकारको अडान, पार्टीको कार्यविभाजनमा भइरहेको ढिलाइ, सचिवालयको बैठक आह्वानलगायत विषयमा कुरा हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।
भेट पछिल्लो समय दुई अध्यक्षबीच देखिएको चिसोपनको कारण र त्यो चिसोपन हटाउन आ–आफ्नो तर्फबाट खेल्नु पर्ने भूमिकाबारे केन्द्रीत हुने स्रोतले बतायो ।
जिल्ला इन्चार्ज र सहइन्चार्ज बनाउँदा दोहोरो भूमिका दिने या नदिने भन्नेबारे सचिवालय सदस्यहरूबीच मत नमिलेपछि गत जेठ २३ गते बसेको सचिवालय बैठक प्रधानमन्त्री ओली युरोप भ्रमणबाट फर्किएलगत्तै प्याकेजमा टुंग्याउने भन्दै सकिएको थियो ।
युरोप भ्रमणबाट असार १ गते बिहान काठमाडौं पुगेका ओलीले अरू भेटघाटलाई तीव्र बनाए पनि अर्का अध्यक्ष दाहालसँग भने कुराकानी समेत गरेका थिएनन् । बरु ओली र दाहाल दुबैले सचिवालयका अर्का सदस्य माधवकुमार नेपालसँग भने छुट्टाछुट्टै भेटेका थिए ।





