काठमाडौँ । वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेश्रो संशोधन) विधेयक २०७९ प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ ।
मंगलबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा(कोईराला)ले उक्त बिधेयक प्रस्तुत गनुभएको हो ।
बिधेयक प्रस्तुत गर्दै कानुनमन्त्री कोईरालाले माओवादीको सशस्त्र द्वन्दका क्रममा मारिएका परिवार र घाइतेलाई राहत प्रदान गर्नका साथै समाजमा मेलमिलाप कायम गर्न ल्याइएको बिधेयकलाई सरकारले अघि बढाउन लागेको जानकारी दिनुभयो ।
द्वन्दपीडितलाई प्राथमिकतामा राखेर कानून बनाउन बिभिन्न सुझावहरु प्राप्त भएकाले आवश्यक सुझावहरुलाई समावेश गरेर संशोधन गर्न बिधेयक तयार गरिएको उहाँको भनाइ छ । उहाँले संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुराउनका लागि बिधेयकलाई सदनमा पेश गरिएको बताउनुभयो ।
त्यसअघि उक्त प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले गर्नुभएको विरोधको सुचनालाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक भाद्र १३ गते बोलाइएको छ ।





