बिर्तामोड । झापामा मिटरव्याजीबाट पीडित भएकाहरुले धमाधम उजुरी दिइरहेका छन् । जिल्ला प्रशासन कार्यालय झापाले उजुरीका लागि आव्हान गरेपछि पीडितहरु उजुरी लिएर प्रशासन पुगेका छन् । २१ जनाले उजुरी दर्ता गराइसकेको जिल्ला प्रशासन कार्यालय झापाका प्रशाकीय अधिकारी सुरेन्द्र भट्टराईले जानकारी दिनु भयो ।
इलाका प्रशासन कार्यालय दमकबाट ७ जना र जिल्ला प्रशासन कार्यालय भद्रपुरबाट १४ जनाले उजुरी दर्ता गराएको भट्टराईले बताउनु भयो ।
मिटरव्याजीको धन्दा गर्नेहरुबाट पीडितलाई भदौ ६ गतेसम्म उजुरीका लागि सूचना जारी गरिएको थियो । पीडितलाई मिटरव्याजीले गरेको अपराध र शोषण बारे खुलाएर उजुरी दिन भनेको थियो ।
जिल्ला प्रशासन, इलाका प्रशासन दमक र जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिनु आव्हान गरिएको थियो । जिल्लामा मिटरव्याजीहरुको ठुलै धन्दा भएपनि उल्लेख्य मात्रामा उजुरी नपरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।





