डिकमान सुनुवार स्मृति बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार भीमा शिवाकोटी पुरस्कृत


२७ श्रावण २०७९, शुक्रबार १७:२१ मा प्रकाशित

झापा । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) झापा शाखाले स्थापना गरेको डिकमान सुनुवार बिरही स्मृति बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार भीमा शिवाकोटीलाई प्रदान गरिएको छ ।

फोनिज झापा शाखाका पूर्व अध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय पुरस्कार छनौट समितिको निर्णय अनुसार यस बर्ष उक्त पुरस्कारबाट शिवाकोटीलाई पुरस्कृत गरिएको हो ।

शुक्रबार बिर्तामोडमा आयोजित फोनिज झापाको १० औं साधारण सभा तथा फोनिजको २३ औं स्थापना दिवसका अवसरमा उक्त पुरस्कार पत्रकार शिवाकोटीलाई प्रदान गरिएको हो ।

२०५९ सालदेखि कंचनजंघा एफएममा कार्यरत शिवाकोटी नेपाल पत्रकार महासंघ झापाको पूर्व उपाध्यक्ष तथा नारी सञ्चार गृह झापाकी अध्यक्ष समेत हुनुहुन्छ।

उहाँलाई नगद २५ हजारसहित ताम्रपत्र प्रदान गरेर पुरस्कृत गरिएको हो । त्यस्तै उदयीमान पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय एपिवान टेलिभिजनका झापा सम्बाददाता बिष्णु श्रेष्ठ र रेडियो झापाकी कार्यक्रम प्रस्तोता गंगामाया बेघा लिम्बूलाई पुरस्कृत हुनुभएको छ । उहाँहरूलाई जनही नगर पाँच हजार र प्रशंसा पत्र प्रदान गरिएको हो ।

पुरस्कार कार्यक्रमका प्रमुख अतिथि फोनिजका संघीय उपाध्यक्ष कमन देवान र फोनिजकी झापा अध्यक्ष भूमिका फ्याकले संयुक्त रुपमा प्रदान गर्नुभएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here