नेपालले भारतसँगको सिमानामा काँडेतार लगाउनुपर्छ : भीम रावल


२५ श्रावण २०७९, बुधबार १७:०७ मा प्रकाशित

काठमाडौँ । नेकपा (एमाले) का नेता भीमबहादुर रावलले नेपालले भारतसँगको आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा कलाकार नवल खड्काले निर्माण गरेको चलचित्र ‘काँडेतार’ का बारेमा जानकारी दिन आयोजित कार्यक्रममा रावलले भारतले बंगलादेशसँग आफ्नो सिमानामा काँडेतार लगाएको भन्दै नेपालले पनि भारतसँग आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने बताउनुभएको हो ।

सिमानामा काँडेतार लगाउने भनेपछि केवल फलामे तार लगाउनेजस्तो बुझिएपनि यो देशको सुरक्षाको अभिव्यक्ति भएको उहाँको भनाइ छ । रावलले धेरै राष्ट्रहरुले आफ्नो सिमानाको रक्षाको लागि पर्खाल लगाएको उदाहरण पेश गर्दै नेपालले पनि आफ्नो सिमानाको राम्रो सुरक्षा गर्नुपर्नेमा जोड दिनुभयो । रावलले नागरिकता विद्येयकको पनि विरोध गर्दै नेपालीहरुलाई अल्पमतमा पार्ने षड्यन्त्र भएको तर्क गर्नुभयो ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले सबैखाले बाहृय हस्तक्षेपको विरुद्धमा नेपाल लड्नुपर्ने र यसका लागि सबै एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको धारणा राख्नुभयो ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेपालले आफ्नो सिमानालाई व्यवस्थित् गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले नेपालमा राष्ट्रियतामाथि प्रहार हुँदा सबै मिलेर त्यसलाई जोगाउने काम गरेको जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here