बोक्सी बकाउने ‘माता’ सावित्रा शिवाकोटी पक्राउ


३१ जेष्ठ २०७६, शुक्रबार २१:५८ मा प्रकाशित

झापा ।  आफुलाई तन्त्रमन्त्र जान्ने माता दावी गर्दै आएकी सावित्रा शिवाकोटीलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।
मेचीनगर ९ स्थित एक घरमा मन्दिर बनाएर केही महिना अघिदेखि आश्रय लिदै आएकी ४० वर्षीया शिवाकोटीले झारफुकको नाममा गत जेठ ७ गते स्थानीय ८१ वर्षीया एक वृद्धालाई बोक्सीको आरोप लाग्ने गरी विरामी बकाएकी थिइन् ।
इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको टोलीले शिवाकोटीलाई पक्राउ गरी हिरासतमा राखेको छ भने घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

शिवाकोटीले निर्माण गरेको मातामन्दिरमा झारफुकका लागि स्थानीय कुमारी चम्लागाई आएकी थिइन् ।शिवाकोटीले बोक्सी बक्न दवाव दिएपछि बक्ने क्रममा चम्लागाईले ती वृद्धाको नाम पटकपटक उच्चारण गरेको भिडियो सार्वजनिक भएको थियो ।

बोक्सी बकाउने शिवाकोटी र बक्ने चम्लागाईविरुद्ध पीडित वृद्धाले इलाका प्रहरी कार्यालय धुलावारीमा उजुरी दिएपछि दुवैलाई पक्राउ गर्न अदालतबाट पुर्जी जारी भएको थियो ।प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार हाल फरार रहेकी चम्लागाईको खोजी कार्य भइरहेको छ ।बोक्सीको आरोप लगाउनेलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम मुद्धा लाग्ने र त्यस्तो मुद्धामा दोषी ठहरिने व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैया सम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here