अवैध रुपमा नेपाल भित्राइने रासायनिक मल गुणस्तरहीन भएको प्रमाणित


१८ श्रावण २०७९, बुधबार १९:०६ मा प्रकाशित

झापा । भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा नेपाल भित्राइने रासायनिक युरिया मल गुणस्तरहीन भएको प्रमाणित भएको छ ।

सरकारले किसानलाई समयमा युरिया मल उपलब्ध गराउन नसक्दा सीमा नजिकै बसोबास गर्ने नेपाली कृषकहरूलाई लक्षित गरी तस्कर समूहले अवैध रुपमा भारतबाट मल भित्राउँदै आएको छ । चोरी तस्करी गरी खुला नाकाबाट भित्राइएका त्यस्ता मल सशस्त्र र नेपाल प्रहरीले बरामद गरी भन्सार बुझाएको थियो ।

सशस्त्र र नेपाल प्रहरीले विभिन्न मितिमा बरामद गरी बुझाएका भारतीय विभिन्न ब्रान्डका दुई सय बोरा भन्दा बढी मल भद्रपुर भन्सार कार्यालय परिसरमा लिलामका लागि राखिएको छ । लिलामका लागि राखिएको मल परीक्षणका लागि पठाउँदा गुणस्तरहीन प्रमाणित भएर आएको भद्रपुर भन्सार कार्यालयका प्रमुख रामेश्वरकुमार मिश्रले जानकारी दिनुभयो । चोरी पैठारी भएर आएका सबै सामान गुणस्तर जाँचका लागि पठाउनुपर्ने तर, यस अघि त्यस्तो नगरिएको उहाँको भनाइ थियो ।

भन्सारले २०७८ चैत २८ गते ५४ बोरा मल लिलामका लागि सूचना जारी गरेको थियो । भद्रपुरको प्रेरणा ट्रेडर्सले मल लिनलाई बोली लगाएको थियो । त्यसपछि भन्सारले ती मलका केही बोराबाट स्याम्पल निकालेर प्रेरणा ट्रेडर्सलाई भन्सारको पत्रसहित माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का सुनसरी पठाएको थियो । प्रयोगशालाले ४२ दशमलव ३ प्रतिशत नाइट्रोजनको मात्रा रहेको भन्दै गुणस्तरहीन प्रमाणित गरिदिएकोले मल लिलाम हुन सकेको छैन । नाइट्रोजनको मात्रा ४६ प्रतिशत हुनु पर्ने भन्सार प्रमुख मिश्रले बताउनुभयो ।

मल मात्र नभएर भन्सारमा खाद्यान्न सामग्री पनि लिलाम नहुँदा गोदामभित्रै कुहिन थालिसकेका छन् । बर्षोदेखि सवारीसाधन लिलाम नहुँदा भन्सार परिसरमा ठुला तथा साना सवारीसाधन कवाडीमा परिणत भइसकेको व्यापारीहरू बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here