भरत प्रसाई । गएको केही हप्तादेखि झापाको प्रमुख शहर बिर्तामोडमा नियमित रुपमा फोहोर उठ्न नसकेपछि चोक र गल्लीहरु दुर्गन्धित भएका छन् । जताततै फोहोरका डंगुर थुप्रेका कारण शहर कुरुप बन्नुका साथै स्वास्थ्य समस्यामा जटिलता थपिने संभावना पनि रहेको छ । पूर्वको ब्यापारिक केन्द्रको रुपमा चिनिएको बिर्तामोडमा फोहोरको उचित ब्यवस्थापन नहुँदा स्वास्थ्य समस्याका जोखिम बढ्दै गएको छ ।
फोहोर व्यवस्थापन गर्ने ठाउँको अभाव भएपछि ठेकेदार कम्पनी निराकार सरसफाई सेवा प्रालिले उठाएका फोहोर डम्पिङ नहुँदा ट्रयाक्टरमै कुहिने अवस्थामा पुगेको छ । नगरपालिकाको कार्यपालिकाले उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा फोहोर व्यवस्थापनका लागि एउटा कार्यदल पनि बनाएको थियो ।
सो कार्यदललाई बिर्तामोडको तत्काल देखिएको फोहोर व्यवस्थापनको समस्या समाधानका लागि काम गर्न म्याण्डेट दिएको छ । कार्यदलले अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्न लागि परेको बिर्तामोड नगरपालिकाले जनाएको छ । अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्नका लागि तीन वटा ठाउँ प्रस्तावित रुपमा हेरिएको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बताउनु भयो ।

उहाँका अनुसार कार्यदलको अध्ययनले उपयुक्त ठानेमा फोहोर व्यवस्थापन गर्ने काम भोलीबाट नै थालिन बताउनु भयो । उहाँले केहि दिन धैर्य रहन आग्रह गर्दै जति सक्दो चाँडो फोहोरको ब्यवस्थापन गरिने बताउनु भयो ।
उपप्रमुख संग्रौलाले हाललाई घरभित्रबाट फोहोर बाहिर नफाल्न समेत आग्रह गर्नुभएको छ । उहाँले ठाउँको व्यवस्थापन गर्ने काममा लागिरहेकोले फोहोरलाई केही दिन घरमै व्यवस्थापन गरेर राख्न आग्रह गर्नु भएको छ । फोहोर उठाउन ठेक्का पाएको निराकारले फोहोर संकलन शूल्कका नाममा धेरै ठाउँबाट रकम उठाइसकेको छ । रकम तिरिसकेका परिवारले फोहोर व्यवस्थापन नगरेकोमा आक्रोस व्यक्त गर्दै गरेका छन् ।
बिर्तामोडमा लामो समयदेखि फोहोर व्यवस्थापन हुन नसकेपछि सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ । कार्यदलका संयोजक संग्रौलाले तीन महिनालाई अस्थायी व्यवस्थापन गर्ने योजनाका साथ काम भइरहेको जानकारी दिनु भयो । त्यसपछि बिर्तामोडको फोहोर कनकाई नविकरणीय उर्जाले लैजाने उहाँको भनाई छ ।
बायोग्यास उत्पादनका लागि बिर्तामोडको फोहोर कनकाईस्थित सो प्लाण्टमा पठाइनेछ । प्याण्टमा त्यसकै लागि बिर्तामोड नगरपालिकाले समेत लगानी गरिसकेको छ । सो प्लाण्ट सञ्चालनमा आउन तीन महिना लाग्ने भएपछि त्यसअघिको फोहोर व्यवस्थापन गर्न कठिनाई भइरहेको बताइएको छ ।
बिर्तामोड नगरपालकिाले हालको समस्या समाधान गरेपछि बिर्तामोडमा उत्पादन हुने फोहोरलाई वर्गिकरण गरेर मात्रै व्यवस्थापन गर्ने जनाएको छ । उपप्रमुख संग्रौलाले वर्गिकरण नगरी राखिएको फोहोर नगरपालिकाले नउठाउने बताउनु भएको छ ।





