बिराटनगर । बिराटनगरबाट ६० जना यात्रु लिएर काठमाडौंका लागि उड्न लागेको यति एयरलाइन्सको जहाजमा खराबी आएको छ।
शुक्रबार बिहान ७:३० बजे काठमाडौं प्रस्थान गर्ने तयारी गर्दैगर्दा खराबी आएपछि जहाजलाई विराटनगर विमानस्थलमै राखिएको छ।
बिहीबार साँझ काठमाडौंबाट आएर ‘नाइट स्टप’ गरिएको वाईटी ७८६ उडान नम्बर र एमएम कल साइनको जहाजको इन्डिकेटरमा खराबी देखिएको यति एयरलाइन्स विराटनगरका स्टेशन म्यानेजर प्रेम कुँवरले जानकारी दिनुभयो।
उहाँका अनुसार काठमाडौं जाने तयारीमा रहेका सबै यात्रु जहाजमा चढिसकेका थिए। ‘यात्रुहरु सिटमा बसिसकेपछि जहाज ‘स्टार्ट’को तयारी हुँदै थियो,’ कुँवरले भन्नुभयो, ‘तर खराबी देखिएपछि यात्रुलाई ओरालिएको छ।’
काठमाडौंबाट बिहीबार साँझ यात्रु लिएर आएको जहाजलाई विराटनगर विमानस्थलमै राखिएको थियो।
जहाजमा आएको समस्याको पहिचानका लागि काठमाडौंबाट प्राविधिक झिकाइसकिएको कुँवरले बताउनु भयो।





