काठमाडौँ । सभामुख अग्नी सापकोटाले राज्यका हरेक निकायमा महिला प्रतिनिधित्वका लागि दलहरु पनि गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
संघीय संसद सचिवालयले बिहीबार काठमाडौंमा आयोजना गरेको निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व विषयक संघीय संसदका महिला सांसदहरुसंगको अन्तक्र्रिया कार्यक्रममा महिला प्रतिनिधित्वको बिषय राजनीतिक र कानूनी कुरा भएको भन्दै दलहरु पनि गम्भीर हुनुपर्ने बताउनुभएको हो । उहाँले कानूनमा समावेश भएकै कारण मात्रै अनिवार्य महिला प्रतिनिधित्व गराउने प्रवृतिलाई पूर्ण रुपमा अन्त्य गर्नका लागि समाजमा रहेको पुरातनवादी दृष्टिकोणलाई बदल्नुपर्ने धारणा राख्नुभयो ।
प्रत्यक्ष निर्वाचनमा महिलाहरुलाई सहभागी गराउन जोड दिने बिषय बहुआयामिक भएको र यसका लागि पार्टीले नै जोडबल गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले दलगत मतदानमा अरुची देखा पर्नु लोकतन्त्र र व्यवस्थाका लागि समस्या भएको धारणा राख्नुभयो ।
त्यस्तै उपसभामुख पुष्पा भुसालले आगामी निर्वाचनमा समानुपातीकका साथै प्रत्यक्षतर्फ महिलाको सहभागीता बढाउनका लागि बहस सुरु गर्न खोजिएको जानकारी दिनुभयो । संसदबाटै महिला प्रतिनिधित्वको संख्या बढाउनका लागि पहल सुरु गरिएको उहाँको भनाइ छ ।
त्यस्तै पूर्वसभामुख ओनसरी घर्तीले आरक्षणमात्रै नभएर प्रत्यक्षतर्फ महिला उम्मेदवारको सहभागीता बढाउनुपर्नेमा जोड दिनुभयो ।





