कैदीबन्दीलाई कृषिमा लगाउने सरकारको योजना रहेको छ – गृहमन्त्री खाण


१२ श्रावण २०७९, बिहीबार १६:५५ मा प्रकाशित

काठमाण्डौ । गृहमन्त्री बालकृष्ण खाणले कारागारहरूलाई खुला ठाउँमा सारिने बताउनुभएको छ । आज बिहीवार राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७९ माथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री खाणले धेरैजसो कारागार सहरको मध्य भागमा रहेको भन्दै ती कारागारलाई ठूलो भू–भागमा सार्ने र नयाँ कारागार बनाउने सरकारको योजना रहेको बताउनुभयो ।

कारागारको क्षेत्रफल ठूलो बनाएर कैदीबन्दीहरूलाई कृषि उत्पादनको काममा लगाउन सकियोस भन्ने सरकारको धारणा रहेको उहाँको भनाइ छ ।
‘बन्दी गृहलाई अब सुधारको आवश्यकता रहेको बताउदै , सहर बजारको मध्य भागमा रहेका जेलहरूलाई बाह्य भू–भागमा, अलि ठूलो भू–भागमा स्थानान्तरण गर्ने र नयाँ जेल निर्माण गर्ने सरकारको योजना रहेको बताउनु भयो ।

विधेयकको सम्बन्धमा छलफलका क्रममा बोल्दै सांसद तुलसाकुमारी दाहालले यौनजन्य हिंसाका अपराधीहरूलाई छुट दिन नहुने बताउनु भयो ।
उहाँले सुत्केरीहरूलाई ९० दिनसम्म बाहिर बसेर स्याहार गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । युवाहरूलाई श्रम शिविरमा राखेर श्रम गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद सुरेशकुमार आले मगरले कारागारलाई सुधार गृहको रूपमा विकास गर्ने कुरा व्यवहारमा लागू हुनुपर्ने बताउनुभयो । उहाँले कारागारभित्र मनोसामाजिक परामर्श आवश्यक भएको उल्लेख गर्नुभयो ।

सांसद डा.विमला राई पौड्यालले कारागारभित्र हुने व्यवहारलाई सुधार गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले महिला बन्दीहरूलाई पुरुष सुरक्षाकर्मी र कर्मचारीहरूले यौनजन्य र्दुव्यवार गर्ने गरेको भन्दै यस्तो घटनामा गोप्य रूपमा उजुरी गर्ने र दोषीलाई कारबाही गर्ने व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

बिहीवार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले राष्ट्रिय सभाबाट पारित गरी प्रतिनिधि सभामा पठाइएको नेपाल इन्जिनियरिङ परिषद् पहिलो संशोधन विधेयक २०७६ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरेको छ ।

त्यस्तै गरी राष्ट्रिय सभाबाट पारित गरी प्रतिनिधि सभामा पठाइएको ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन विधेयक २०७५ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here