गल्ती दोर्होयाउने छुट कसैलाई छैन -अध्यक्ष ओली


१२ श्रावण २०७९, बिहीबार १७:१० मा प्रकाशित

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वि .सं २०६४ को संसदीय चुनावमा आफूलाई हराएपछि पछुताउनुपरेको कार्यकर्तालाई स्मरण गराउनुभएको छ ।

उहाँले आज बिहीवार दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आउँदो चुनावमा त्यो प्रवृत्ति दोर्होयाउनु बेठिक हुने उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले सङ्घीय र प्रदेशको चुनावलाई लक्षित गर्दै कार्यकर्तालाई दोर्होयाएर गल्ती गर्ने छुट अब नभएको बताउनुभयो । उहाँले ठट्टा गर्दै भन्नुभयो, ‘२०६४ सालको चुनावमा पार्टीका कतिपय साथीले भोट अन्तै हालेर मलाई हराउनुभयो, तर उहाँले जिताएर पठाएको मान्छे आज कहाँ छन्

’ तत्कालीन समयमा आफूलाई हराएको एक वर्ष नबित्दै क्षेत्र नं ७ का बासिन्दाले पछुतो मान्नुपरेको स्मरण गराउँदै उहाँले गल्तीलाई फेरि दोहोरिन नदिन आग्रह गर्नुभयो ।

उहाँले पालिका चुनावमा दमक नगरपालिकाले हार्नुको कारणबारे पनि कार्यकर्तालाई प्रश्न गर्नुभएको थियो । अध्यक्ष ओलीले दलको झण्डा बोकेर विरोधीलाई भोट हालेर जिताउने छुट कसैलाई नभएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

उहाँले कार्यक्रममा पार्टीको सिद्धान्त तथा नीति सबैले बुझ्नुपर्ने र दोर्होयाएर गल्ती गर्ने काममा नलाग्न सबै कार्यकर्तालाई निर्देशन दिनुभयो ।

आज बिहीवार नै अध्यक्ष ओलीले कमल र गौरीगञ्ज गाउँपालिका तथा गौरादह नगरपालिकाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष दीपक कार्कीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here