झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिहीबार बिहान एकाएक बिर्तामोडको कनकाई रोडमा रहेको ब्याडमिन्टन हलमा प्रवेश गर्नुभयो।
उहाँ ब्याडमिन्टन खेल हेर्नका लागि नभइ खेल्नका लागि प्रवेश गर्नुभएको थियो। खेलले मानिसको मानसिक तथा शारीरिक अवस्थालाई तन्दुरुस्त राख्न सहयोग पुग्ने खेलपछि ओलीले प्रतिक्रिया दिनुभएको छ।
एमाले अध्यक्ष ओली बिहीबार बिहान करिब ७ बजे बिर्तामोडमा रहेको बिग ब्रदर्श ब्याडमिन्टन हलमा प्रवेश गर्दा सबै छक्क परेका थिए ।

यस अघि पनि खेल तथा खेलाडीलाई उच्च मनोबल दिलाउन आफूले पनि विगतमा विभिन्न खेल खेल्ने गरेको बताउँदै आउनु भएका ओलीले बिहीबार ब्याडमिन्टन खेलेरै देखाउनु भयो ।
पाको शरीरका बाबजुद उहाँले देखाएको उत्साह खेलप्रेमीका लागि प्रेरणादायी थियो। ब्याडमिन्टन हल प्रवेश गर्दा खेलिरहेका खेलाडी ओलीसंग तस्वीर खिच्न दौडिन थाले।
त्यसपछि ब्याडमिन्टन खेलाडी प्रभा लिम्बु र ओली एउटा कोर्टमा र अर्को कोर्टमा कुमार राई र एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व महान्यायाधिवक्ता अग्नि खरेल बसेर खेल शुरु भयो।
खेल कस्ले जित्यो भन्दा पनि ओलीले खेलप्रति देखाएको चासो र उत्साह गज्जबको थियो। मानिसलाई स्वस्थ रहनका लागि खाना, व्यायाम र आराम महत्वपूर्ण रहेको ओलीले बताउनु भयो।

आफू युवा अवस्थामा रहँदा फुटबल बढी खेल्ने गरेको ओलीले बताउनुभयो। खोला बाढी आएका बेला पौडी पनि खुब खेल्ने गरेको भन्दै ठट्टा गर्दै ओलीले पहिला ब्याडमिन्टन खेलका लागि वातावरण नभएकाले त्यतातिर लाग्न नपाएको बताउनुभयो।
ब्याडमिन्टन खेलिसकेपछि नेता अग्नि खरेलले चिया पिउन आफ्नो घरमा जानका लागि ओलीलाई प्रस्ताव गर्नुभएको थियो। नेता खरेलसंग ठट्टा गर्दै ओलीले ‘एक चियाको कति रुपैयाँ पर्छ?’ भनेर सोध्नु भएको थियो। खरेलले ‘पैसा पर्दैन, सित्तैमा ख्वाउँछु’ भन्दै ठट्यौलीमा जवाफ दिनुभएको थियो।

ओलीले नेता खरेलको घरमा गएर भान्साका सहयोगीसंग भान्साघरमै तस्वीर खिचाउनु भयो। नेता खरेलले एउटा नेताले हरेक तह र तप्काका सर्वसाधारणसंग घुलमिल हुनुपर्छ भन्ने सन्देश ओलीले दिनुभएको बताउनुभएको छ।





