जिटिभीबाट प्रसारित चर्चित रियालिटी शो ‘सारेगम लिटिल चाम्स २०१९’ मा सेकेन्ड रनरअप भएका नेपालका प्रितम आचार्यलाई पूर्वी नेपालको काँकडभिट्टामा भव्य स्वागत गरिएको छ।
भारतबाट फर्कंदा सोमबार प्रितमलाई स्वागत गर्न उनका आफन्त, परिवार र इष्टमित्र मेची पुल नजिकै पुगेका थिए। नेपालका आयुष केसीले यो शोमा चौथो स्थान हासिल गर्दा प्रितम भने सेकेन्ड रनरअप अर्थात् तेस्रो भएका थिए। उनलाई फूलमालासहित भव्य स्वागत गरिएको थियो।
प्रितमको स्वागत गर्न पुगेका उनी अध्ययनरत विद्यालयका विद्यार्थीहरुले उनको फोटो राखिएको प्ले कार्डसमेत बोकेका थिए। संक्षिप्त कार्यक्रममा प्रितमले हिन्दी फिल्म बोर्डरको ‘सन्देशे आते हे’ बोलको गीत गाउँदा समर्थकले ताली बजाएका थिए।जिटिभीको रियालिटी शोमा इटहरीका प्रितमले तेस्रो उपाधिसँगै नगद दुई लाख जितेका थिए।





