एसपीपी कार्यान्वयन नगर्ने विषयमा अहिलेसम्म अमेरिकालाई पत्राचार नगर्नुको कारणबारे जानकारी गराउन सरकारलाई निर्देशन


११ श्रावण २०७९, बुधबार १८:५४ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयन नगर्ने विषयमा अहिलेसम्म अमेरिकालाई पत्राचार नगर्नुको कारणबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले एसपीपीका विषयमा विभिन्न निर्देशनहरु दिएको र कार्यान्वयनको अवस्थाका बारेमा सरकारसंग जानकारी माग गर्ने निर्णय गरेको हो । समिति सभापति पवित्रा निरौलाले सरकारले एसपीपीबाट फिर्ता हुने निर्णय गरिसकेको अवस्थामा किन पत्रचार नगरिएको हो भन्ने पनि जानकारी माग गरिएको बताउनुभयो ।

त्यस्तै बैठकले सेनाका प्रधानसेनापति अस्ट्रेलियामा भैरहेको एक सम्मेलनमा भएको सहभागी भएको विषयमा पनि जानकारी माग गरिएको उहाँले बताउनुभयो । तीन पटक सम्म एसपीपीका सम्बन्धमा भएका कागजात मगाईसकेको र प्राप्त नभएको उहाँको भनाइ छ ।

बैठकमा समितिका सदस्य माधवकुमार नेपालले एसपिपिमा नेपाल सहभागी नहुने सरकारको निर्णयबाट फिर्ता हुने अवस्था नरहेको भन्दै सरकारको पत्र अमेरिकालाई पठाउन ढिलाइ भएको बताउनुभयो । त्यस्तै समिति सदस्य प्रकाशमान सिंहले यस बिषयमा सवै कागजात मगाएर नै आवश्यक अध्ययन गर्नुपर्ने धारणा राख्नुभयो । बैठकमा समितिका सदस्य ईश्वर पोखरेलले समितिले मागेको कागजात नपठाएर शंकाको घेरा उत्पन्न भएको तर्क गर्नुभयो ।

बैठकमा अधिकांश समिति सदस्यहरुले एसपिपिमा नेपाल सहभागी नहुने जानकारीको पत्र अमेरिकालाई पठाउन ढिलाइ हुनुको कारणबारे सरकारले प्रष्ट पार्नुपर्ने धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here