साउनको दोस्रो सोमबार देशभरका शिवालयमा भक्तजनको भीड


९ श्रावण २०७९, सोमबार १३:१५ मा प्रकाशित

काठमाडौँ । साउनको दोस्रो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

पशुपतिनाथ मन्दिरमा बोल बम यात्रीको पनि उल्लेख्य सहभागिता रहेको थियो । सुन्दरीजलबाट शुद्ध जल लिएर आई बोल बम यात्रीले पशुपतिनाथ मन्दिरमा अर्पण गरेका थिए । बोल बम यात्रा गरी पशुपतिनाथ मन्दिरमा जल चढाउन चाहनेको चार ढोकामध्ये एक ढोकामा व्यवस्था गरिएको थियो ।

साउनको सोमबार भगवान् शिवलाई शुद्ध जलमात्र चढाए पनि खुसी भई मनकामना पूरा हुने धार्मिक विश्वास छ । साउन भगवान् शिवजीको महिना मानिन्छ । सोमबारलाई भगवान् शिवको बारका रुपमा मानेर भक्तजनको विशेष भीड लाग्ने गरेको हो । साउनको सोमबार विशेषगरी महिलाले व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने परम्परा छ । यसो गरेमा विवाहित महिलाले अटल सौभाग्य एवं अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक मान्यतासमेत रही आएको छ ।

यसै मान्यताका आधारमा साउनको सोमबार देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड लाग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here