प्रतिनिधि सभा बैठक बस्दै, नागरिकता विधेयक पारित गर्ने प्रक्रिया अघि बढाउँदै सरकार


६ श्रावण २०७९, शुक्रबार ०७:४६ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आजको बैठकमा सरकारले नागरिकता विधेयक पारित गर्ने प्रक्रिया अघि बढाउने भएको छ।

यसअघि प्रतिनिधि सभामा पुगेको नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराएको सरकारले यसमा छलफल गरी पारित गर्ने तयारी गरेको हो।

त्यसका लागि आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

आजको बैठकका लागि सार्वजनिक सम्भावित कार्यक्रममा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफल सदनमा गरियोस्’, ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने उल्लेख गरिएको छ।

यसैगरी आजै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक,२०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यक्रम छ।

अन्य सम्भावित कार्यक्रममा प्रधानमन्त्री शरेबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नु हुनेछ।

यस्तै गृहमन्त्री खाँणले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधयेक, २०७६ माथि छलफल गरियोस् र कारागार विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here