काठमाडौँ । राष्ट्रिय युवा परिषद्का अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकको अध्यक्षतामा ६५७ सदस्यीय अन्तर्राष्ट्रिय युवा दिवस मुल समारोह आयोजक समिति गठन गरिएको छ ।
बिहीवार युवा तथा खेलकुद मन्त्रालयमा सरोकारवाला तथा विभिन्न क्षेत्रका युवा केन्द्रित संघसंस्था र प्रतिनिधिहरुको उपस्थितिमा आयोजित वृहत् भेलाबाट मुल समारोह समिति बनाइएको हो । समितिमा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत सहित सबै सदस्यहरु, नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरी वलका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद, युवा स्वरोजगार कोष र नेपाल स्काउटका प्रतिनिधि रहनेछन् ।
कार्यक्रममा खेलकुद मन्त्री गहतराजले अन्तरपुस्ताको ऐक्यबद्धता, सबै उमेर समूह मैत्री विश्व निर्माणमा प्रतिवद्धता’ भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाउन लागिएको सो नारा नेपालमा पनि प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि लागी पर्न सदस्यहरुलाई आग्रह गर्नुभयो । उहाँले साउन २७ गतेको युवा दिवसमा सातै प्रदेशका ७ सय ५३ वटै पालिकामा सरकारी अस्पतालमा सरसफाईलगायत रचनात्मक र सचेतनामूलक कार्यक्रम गर्ने जानकारी दिनुभयो ।
यसैगरी युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको संयोजकत्वमा सचिवालय समेत गठन गरिएको छ। दिवसलाई साताव्यापी कार्यक्रमका साथ भव्य रुपमा मनाउन सो समिति बनाइएको उपाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
यस्तै विभिन्न युवा तथा विद्यार्थी संघ संगठनका प्रतिनिधि,परिषद सम्वद्ध युवा सञ्जालका प्रतिनिधि, परिषद आवद्ध संघ–संस्थाका प्रतिनिधि, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि समेत रहनेछन् । युवाका मुद्दा र सवाललाई सम्वोधन गर्ने अभिप्रायले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउँदै आइएको छ ।





