झापा । भारतको उत्तरपूर्वी राज्य आसामको गुवाहाटीमा रहेको डाउनटाउन विश्वविद्यालयले नेपालका विद्यार्थीलाई लक्षित ठूलो धनराशि बराबरको छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ ।
डाउनटाउन विश्वविद्यालयले नेपाली विद्यार्थीलाई लक्षित गरि भारतीय रुपैयाँ पाँच करोड बराबरको छात्रवृत्ति यस बर्षदेखि प्रदान गरिने विश्वविद्यालयका नेपाल संयोजक शंकर भट्टराईले जानकारी दिनुभयो ।
पाँच करोड भारतीय रुपैयाँ बराबरको छात्रवृत्ति डाउनटाउनले दिने गरेको छात्रवृत्तिमध्ये यो सबभन्दा ठूलो धनराशिको भएको भट्टराईले बताउनुभयो ।
मंगलबार झापाको बिर्तमोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै लक्ष्मी एजुकेशन कन्सल्टेन्सीका प्रवन्ध निर्देशकसमेत रहनुभएका भट्टराईले उक्त धनराशिको छात्रवृत्तिबाट डाउनटाउन विश्वविद्यालयमा पढ्ने एक सय जना नेपाली विद्यार्थी लाभान्वित हुने बताउनुभयो ।
उहाँका अनुसार डाउनटाउन विश्वविद्यालयमा पढ्नका लागि छनोट भएका पहिलो २५ जना नेपाली विद्यार्थीले जतिसुकै महंगो शूल्कको कोर्स भए पनि सबै कोर्स पूरा गर्न २० हजार रुपैयाँ तिर्दा पुग्छ । त्यसपछि छनोटमा भएका २५ जना विद्यार्थीले ३० हजार रुपैयाँ तिर्दा पुग्ने भट्टराईले बताउनुभयो ।
तेस्रो चरणको छनोटमा ८० हजार रुपैयाँ शूल्क बुझाउँदा तहका सबै बर्ष वा सेमेस्टर पढ्न पाउनेछन् । चौथो चरणको छनोटमा परेका विद्यार्थीले शूल्कमा ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् ।
उक्त छात्रवृत्तिमा होस्टेलको खर्च भने समावेश गरिएको छैन । एसईई माथिदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीका लागि यो छात्रवृति योजना ल्याइएको भट्टराईले बताउनु भयो ।
छात्रवृत्तिका लागि विद्यार्थीले अनलाइनमार्फत यही साउन ११ गतेभित्र फारम भरेर विश्वविद्यालयमा पठाइसक्नु पर्नेछ ।
त्यसपछि विश्वविद्यालयले साउन १३ गते अनलाइनमै विद्यार्थीको स्कलरशीप टेस्ट गर्ने र नतिजा प्रकाशित गर्ने भट्टराईले बताउनुभयो ।





