झापा । स्वास्थ्य बिमामार्फत विरामीको उपचार गरेबापत सरकारले अस्पतालहरुलाई भुक्तानी गर्नुपर्ने रकम महिनौंसम्म नदिएपछि पूर्वी नेपालका ठूला निजी अस्पतालहरुले सोमबारबाट स्वास्थ्य विमा बापतको उपचार सेवा बन्द गर्ने भएका छन् ।
विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, मोरङको बुढिगंगास्थित विराट मेडिकल कलेज र झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालले एकैसाथ स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने निणर्य गरेका हुन् ।
तीन वटै अस्पतालले विमा कार्यक्रम बन्द गर्ने भन्दै आइतवार सूचना जारी गरेका छन् । आइतवार राती १२ बजेबाट विमा मार्फतको उपचार सेवा बन्द गरिने अस्पतालहरुले जनाएका छन् । स्वास्थ्य विमा कार्यक्रममार्फत विरामीको निःशुल्क उपचार गरेबापत स्वास्थ्य विमा बोर्डले यी तीन अस्पताललाई १ अर्ब ४५ करोड रकम भुक्तानी गर्न बाँकी छ । नोबेलको ५५ करोड, विराटको ४६ करोड र बीएण्डसीको ४४ करोड रकम स्वास्थ्य बीमा बोर्डले भुक्तानी गरेको छैन ।
सरकारले अस्पतालहरुलाई बीमा मार्फत उपचार गर्न लगाएर करोडौं रकम भुक्तानी नदिएपछि बाध्य भएर स्वास्थ्य बिमाको उपचार सेवा बन्द गर्नु परेको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले बताउनु भयो ।
‘सरकारले करोडौं रकम महिनौंसम्म भुक्तानी नदिदा अस्पतालहरु धरासायी बन्दै गएका छन्, कर्मचारीहरुलाई समयमै तलब खुवाउँन सकिएको छैन, अन्य भुक्तानीहरु रोकिएका छन्, उपचार सेवा नै प्रभावित हुँने अवस्था बनिसकेको छ,’ डा.शर्माले भन्नुभयो, ‘सरकार यो बिषयमा गम्भीर बनेन, अरु उपाय नलागेपछि हामीले बाध्य भएर बीमा बापतको उपचार रोक्ने निणर्य लिएका छौं ।’
आर्थिक बर्ष २०७९/८० को बजेट वक्तब्यमा २०७९ साउन १ गतेबाट सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै स्वास्थ्य विमा कार्यक्रम उपलब्ध गराउँने भनिएको थियो । तर, त्यसपछि अस्पतालहरुलाई कुनै आधिकारीक कुरा नआएकाले अब स्वास्थ्य विमा बापत उपचार गर्दा त्यसको भुक्तानी प्राप्त हुँने वा नहुँने अन्यौल भएकाले पनि विमा कार्यक्रम बन्द गर्नु परेको डा.शर्मा बताउनुहुन्छ । बाध्य भएर स्वास्थ्य विमा कार्यक्रम बन्द गर्नु परेको भन्दै नोबेलले आइतवार स्वास्थ्य बीमा बोर्डलाई पनि पत्र पठाएको छ ।
सर्वसाधरण जनताको उपचारमा सरकार लापरबाह बन्दा निजी अस्पतालहरुले भटाभट स्वास्थ्य विमाको उपचार सेवा बन्द गर्ने स्थिती बनेको विराट मेडिकल कलेजका सञ्चालक डा.ज्ञानेन्द्रमानसिंह कार्की बताउनु हुन्छ ।





